अमेरिकाले चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा रद्द गर्न सुरू गर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले संघीय गृह प्रशासनसँग मिलेर चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा रद्द गर्न काम गर्नेछ भनेर अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य निकालेर बुधबार घोषणा गरेका छन्।
अमेरिकाले मुख्यतः चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण क्षेत्रमा अध्ययन गर्नेहरूलाई निशाना बनाउने देखिएको छ।
अमेरिकामा लाखौं चिनियाँ विद्यार्थीहरू पढ्छन्। रूबिओले घोषणा गरेजस्तो उनीहरूको भिसा रद्द भएमा अमेरिकी विश्वविद्यालयहरूको आयको प्रमुख स्रोत र अमेरिकी प्रविधि कम्पनीहरूको लागि प्रतिभाको महत्त्वपूर्ण स्रोतमा बाधा हुन सक्ने भनेर विभिन्न मिडियाले लेखेका छन्।
अमेरिकी वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार भारत र चीनका विद्यार्थीहरूले अमेरिकामा सन् २०२३ मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ५४ प्रतिशत हिस्सा ओगटेका थिए। यी दुई देशका विद्यार्थीहरूले सो वर्ष अमेरिकी अर्थतन्त्रमा ५० अर्ब डलरभन्दा बढी योगदान गरेका थिए भनेर समाचार संस्था रोएटर्सले जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई कार्यान्वयन गर्ने क्रममा व्यापक रूपमा आप्रवासीलाई देश निकाला गर्ने र विद्यार्थीको भिसा रद्द गर्न खोजिएको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका हाललाई रोकेको घोषणा गरेको थियो। साथै, अमेरिकी सरकारले अबदेखि त्यहाँ पढ्न जान चाहने विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधिहरूको निगरानी र जाँच गर्ने पनि जनाएको थियो।
विद्यार्थी मात्र होइन, अमेरिका जान चाहने जो कोहीको सामाजिक सञ्जाल गतिविधि निगरानी र जाँच गरिने विदेश विभागका प्रवक्ता टेम्मी ब्रुसले जनाएकी थिइन्।
यही छानबिन गर्न समय र जनशक्ति चाहिने हुनाले अहिलेलाई नयाँ भिसा प्रक्रिया रोकिएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको थियो। तर पहिले नै भिसाका लागि अन्तर्वार्ता लिइसकेका व्यक्तिहरूलाई यसले असर गर्ने छैन।
एपीका अनुसार अमेरिकी विदेश मन्त्री रूबिओले एउटा सर्कुलरमार्फत् अमेरिका आउन चाहने विद्यार्थीले सामाजिक सञ्जालमा के कस्ता कुरा लेखेका छन् वा उनीहरू कस्ता गतिविधिमा संलग्न छन्, त्यसको जाँचबुझ सम्बन्धी मार्गदर्शन जारी गर्ने बताएका थिए।
'सामाजिक सञ्जालको अनिवार्य निगरानी र जाँचको विस्तारको तयारीका लागि, मार्गदर्शन जारी नभएसम्म कन्सुलर विभागहरूले विद्यार्थी वा अन्य शैक्षिक आदानप्रदान भिसाका लागि थप नयाँ अन्तर्वार्ता तालिका निर्धारण नगर्नू,' उक्त सर्कुलरमा लेखिएको छ।
मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा यस निलम्बनबारे सोधिएको प्रश्नमा, विदेश मन्त्रालयका प्रवक्ता ब्रुसले अमेरिकाले भिसाका लागि आवेदन दिने व्यक्तिहरूको जाँचबुझ गर्न उपलब्ध सबै स्रोतहरूको प्रयोग गर्ने बताएकी थिइन्।
विद्यार्थी मात्र होइन, अमेरिका जान चाहने जो कोहीको सामाजिक सञ्जाल गतिविधिहरूको निगरानी र जाँचबुझ गर्न सबै सम्भावित उपकरणहरूको प्रयोग गरिने उनले बताइन्।
'विद्यार्थी हुन् वा अन्य कोही, यहाँ आउने व्यक्तिहरूको मूल्यांकन गर्न हामी हरेक सम्भावित उपकरणको प्रयोग जारी राख्नेछौं,' प्रवक्ताले भनिन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)