गण्डकी सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग राखेर प्रदेशभर सार्वजनिक यातायात बन्द भएको छ।
नेपाल यातायात व्यवसायी महासंघको आह्वानमा शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक सेवाका लागि चल्ने लामो तथा छोटो दुरीका सवारी साधन, ट्याक्सी र ढुवानी सेवा ठप्प पारिएको महासंघका सचिव योगेन्द्र केसीले जानकारी दिए।
निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पांग्रे सवारी साधनलाई पनि यात्रु ओसारपसार गर्न दिएको भन्दै आन्दोलनमा उत्रनुपरेको केसीले बताए।
‘निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले पनि यात्रु ओसारपसार गर्न कुराको विरुद्ध हामीले आन्दोलन गरेका हौं,’ उनले भने, ‘राइड सेयरिङ नियमावली खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
गण्डकी सरकारले वैशाख ३० गते राइड सेयरिङ नियमावली पारित गरेर राजपत्रमा प्रकाशित गरेको थियो। नियमावलीले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीलाई राइड सेयरिङ र सेल्फ ड्राइभमा सहभागी भएर यात्रु ओसरपसार गर्न कानुनी मान्यता दिएको छ।
यसैको विरोधमा यातायात व्यवसायी सवारी साधन बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। यातायात व्यवस्था ऐन २०४९ मा निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनले यात्रु ओसारपसार गर्न रोक लगाएको छ। यही कानुन लागु हुनुपर्ने माग राखेको पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्षसमेत रहेका केसीले बताए।
‘कानुनले रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न दिँदैन, यहाँ नियमावली ल्याएर राइड सेयरिङलाई मान्यता दिन थालियो,’ उनले भने, ‘यो त कानुनको शासन भएन, हुलमुलको शासन भयो।’
गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी संचालनमा छन्। शुक्रबारदेखि १८ गतेसम्म प्रदेशभर सार्वजनिक यातायात बन्द गर्ने र माग सुनुवाइ नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी बन्द गर्ने केसीले चेतावनी दिएका छन्।
गण्डकी सरकारले भने वार्ता समिति गठन गरेर यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको थियो। व्यवसायीले भने माग पूरा नहुने वार्तामा नजाने भन्दै बहिष्कार गरेका छन्।
शुक्रबारदेखि गण्डकी प्रदेशका ११ वटा जिल्लामा सार्वजनिक सवारी बन्द गरे पनि मागको सुनुवाइ नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन्।