दाङमा १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बबई गाउँपालिकाका–४ मा कार्यरत कम्प्युटर सहायक २७ वर्षीय भुपेन्द्र खत्री छन्।
खत्री करारमा कार्यरत कर्मचारी हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले स्थानीय एक किशोरीले मंगलबार दिएको जाहेरीका आधारमा खत्री पक्राउ परेको बताए।
पीडित किशोरीले जाहेरीमा जेठ ९ गते आफूमाथि खत्रीले राति घरमै पसेर बलात्कार गरेको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमार्फत् चिनजान भएपछि आरोपित खत्री किशोरीको घरमा गई बलात्कार गरेको भन्ने खुलेको डिएसपी ठकुरीले बताए।
प्रहरीका अनुसार खत्री र उनकी श्रीमतीको गत वर्ष मात्रै सम्बन्ध बिच्छेद भएको थियो। विवाहको प्रलोभन देखाई खत्रीले किशोरीलाई घरमै गई बलात्कार गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
अदालतबाट म्याद थप भई खत्रीमाथि थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।