काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका-६ स्थित दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा एक जना महिलाको मृत्यु भएको बेथानचोक गाउँपालिका-६ का वडाध्यक्ष विष्णु तामाङले जानकारी दिए।
'मृत्य हुनेमा ६० वर्षीया कृष्णकुमारी तिमल्सिना रहेको भनिएको छ,' उनले भने, 'उनको बुहारी र नातिनी भने घाइते घएका छन्।'
उक्त बसमा चालकसहित ५ जना सवार थिए। सहचालकबाहेक अरू घाइते छन्। उनीहरूलाई उपचारका लागि पठाउन एम्बुलेन्स बोलाइएको उनले जानकारी दिए।
घटनास्थल प्रहरी चौकीबाट १७ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुग्न अझ केही समय लाग्ने काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए।