काठमाडौंमा नक्कली सुन धितोमा राखेर ११ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेकी छन्।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भएकी ४२ वर्षीया दिलमाया मगर पक्राउ परेका हुन्। उनी भक्तपुर राधेराधेमा बस्दै आएको थिइन्।
उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार नक्कली सुन धितोमा राखेर व्यवसायीहरूसँग पटक-पटक पैसा ठगी गर्ने गरेको सूचना आएको थियो। आइतबार थप रकम आवश्यक परेको भनी सुन पसलमा आएपछि उनलाई पक्राउ गरिएको हो।
उनको साथबाट नक्कली माइली तिलहरी १२ थान, छड्के तिलरी १६ थान, सुनचाँदीको बिलहरू १२ थान र २ वटा मोवाइल बरामद भएको प्रहरीले जनाएको छ।
उनले प्रहरी पोसाक प्रयोग गरी नक्कली प्रहरी बनेर विभिन्न व्यवसाथीहरूलाई डर त्रास देखाउने गरेकोसमेत प्रहरी अनुसन्धानमा खुल्न आएको एसपी बोहराले जानकारी दिए।
उनीविरूद्ध ठगीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।