बीपी राजमार्गमा थप एक महिना राति यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ।
बिपी राजमार्गको काभ्रेभञ्जाङ-भकुण्डे हुँदै सिन्धुली जाने यात्रुबाहक सवारी साधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म चल्न रोक लगाइएको हो।
बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि थप एक महिनाका लागि यात्रुबाहक सवारी साधन चल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बुधबार बिपी राजमार्गमा राति गाडी चलाउन थप एक महिना रोक लगाउने निर्णय गरेको हो।
यसअघि असार ७ गते देखि लागू हुनेगरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि रोक लगाइएको थियो।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो। काठमाडौंबाट जाने काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं आउनेलाई सिन्धुलीको खुर्कोटमा रोकिने उनले बताए।