काठमाडौंको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियान नेपालले सम्मान गरेको छ।
परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा कार्यक्रम गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसइईमा सफल विद्यार्थीहरूलाई सम्मान गरेको हो।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७ जनाले ४ जीपीए ल्याएका छन्।
सबै १७ जना विद्यार्थीलाई कार्यक्रममै सम्मानीत गरिएको र अन्य विद्यार्थीको हकमा सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले जानकारी दिए।
उनका अनुसार ४ जीपिए प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरूङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सूचन बस्नेत, विजय कुमार शाह, प्रतिज्ञा तामाङ र दीपेश गौतम रहेका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका थिए।
देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिएका थिए।