मोरङमा एक राउण्ड* हवाई फायर गरी प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
रंगेलीमा लागुऔषध किनेबेच गर्न आएकी भारतीय महिला र दुई जना नेपालीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको स्रोतले बतायो।
ब्युरो प्रवक्ता एसपी जनकबहादुर शाहीले घटनाबारे पुष्टि गरे पनि थप विवरण बताएनन्।
पक्राउ पर्नेमा रंगेली नगरपालिका-८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशिल बुढाथोकी र ४५ वर्षीया भारतीय नागरिक हसिना खातुन हुन्।
खातुनबाट प्रहरीले ४२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। उनी उक्त खैरो हेरोइन बेच्न नेपाल आएका थिए।
ठाकुर र बुढाथोकी किन्न हिँडेका थिए।
लागुऔषध नियन्त्रण ब्युरोबाट प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा केही दिनदेखि रंगेली क्षेत्रमा अनुसन्धान गरिरहेको थियो।
उक्त टोलीले लामो समयदेखि खैरो हेरोइन आउने सूचनाको आधारमा पक्राउ गर्ने तयारी गरिरहेको स्रोतले बतायो।
ब्युरोका एक प्रहरी अधिकारीका अनुसार खातुनको परिवार नै तस्करीमा संलग्न छन्।
‘पुरूष कोही लागुऔषध लिएर आउँछ भन्ने थियो। तर खातुन आइन्,’ ती प्रहरी अधिकारीले भने।
उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो।
हवाई फायर गरेपछि खातुन भने भागेकी थिइनन्।
अहिले बरामद भएको खैरो हेरोइन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा धेरै परिमाणको हो।
एकदेखि तीन सय ग्रामसम्म बरामद भए पनि यो परिमाणको फेला परेको थिएन।
*सच्याइएको