बाँकेमा छोराले बुवाको हत्या गरेका छन्।
बैजनाथ गाउँपालिका–२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकायले ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्रीको काठ प्रहार गरी हत्या गरेका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले जोत्ने हलोको मुङ्गोले पटक/पटक छोराले बुवाको टाउकोमा प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको बताइन्। यो घटना शनिबार बेलुकी साढे ७ बजेतिरको हो।
डिएसपी खनालका अनुसार बुवाले टिभी मात्रै हेरी बस्ने भन्दै छोरालाई सामान्य गाली गरेपछि बुवा छोराको बीचमा भनाभन भएको थियो।
‘कामकाज केही नगर्ने तर टिभी मात्रै हेरेर बस्ने भनेपछि छोरा र बुवाको बीचमा जबाफ सवाल भएको रहेछ,’ डिएसपी खनालले भनिन्, ‘त्यसपछि बाबु बाहिर निस्कन लाग्दा छोरा बाहिर निस्केर बुवाको टाउकोमा हलोको मुङ्ग्रो उठाएर पाँच/ छ पटक प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्नेछ।’
भूपेन्द्रका दाजुभाउजू घर नजिकै भिन्दै बस्दै आएका थिए। अविवाहित भूपेन्द्र दुई पटक सुधार गृहमा बसेका व्यक्ति हुन्।
डिएसपी खनालले भनिन्, ‘हत्या आरोपी व्यक्ति फरार रहेको हुँदा पक्राउपछि थप कुरा खुल्नेछ।’
फरार व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।