काठमाडौं महानगरपालिकाको कर्मचारी हुँ भन्दै १३ लाख २५ हजार रूपैयाँ असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौं वडा नम्बर ६ बस्ने २८ वर्षीय राजु लामा छन्।
राजुले काठमाडौं वडा नम्बर ३१ क्षेत्रमा आफू महानगरपालिकाको सरसफाइ कर्मचारी भन्दै प्रत्येक घरबाट रकम उठाएको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उनी कर्मचारी नभएको, पटक पटक गरी हालसम्म १३ लाख २५ हजार असुली गरेको र उनको साथबाट नगद ६ हजार पाँच सय रूपैषाँ, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेस्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।