काठमाडौंको गोंगबु बसपार्कस्थित एक होटलमा श्रीमतीलाई हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगन्जबाट श्रीमानलाई पक्राउ गरेको हो।
हत्या आरोपमा काभ्रेका सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट पक्राउ गरी ल्याएको एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
उनले नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २७ वर्षीया ललिता विकको हत्या गरेको आरोप छ।
शुक्रबार राति ११ बजेतिर ललिताको शव एक होटलमा फेला परेको थियो। बसपार्कमा रहेको एक होटलको कोठा नम्बर २०१ मा शव फेला परेको थियो।
खाटमुनि शंकास्पद अवस्थामा शव फेला परेको थियो।
शव फेला परेपछि प्रहरी परिसर र अपराध अनुसन्धानको टोली खटिएको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा शवको सनाखत भएको थियो।
शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
अनुसन्धानको क्रममा श्रीमान सन्तोष र उनकी श्रीमती ललिताबीच सम्बन्ध राम्रो थिएन। उनीहरूबीच दुई वर्षअगाडि मात्रै विवाह भएको थियो
साउन २७ गते सन्तोषले उनलाई बोलाएर होटलमा लगेका थिए। त्यस होटलमा लगेर हत्या गरी बेडमुनि लुकाएको खुलेको थियो।
त्यसपछि उनी आफ्नो साथीको घरमा गएर बसेका थिए। साउन २८ गते उनले आफ्नी श्रीमती हराएको भनेर प्रहरी वृत्त महाराजगन्जमा निवेदन समेत दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
श्रीमतीको खोजीमा आफै लागेका सेन्चुरी भने साउन ३० गते २ बजेदेखि भने सम्पर्कबिहीन भएका थिए।
फरार भएका उनलाई कार्यालयको टोलीले वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।