नेपाल–भारतमैत्री केन्द्र केन्द्रीय समिति रूपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसइई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ।
मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार लुम्बिनीमा एसइई उत्तीर्ण छात्राहरूलाई साइकल वितरण गरिएको हो।
मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्साहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिए।
‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएका हौं,’ अग्रवालले भने।
उनले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए।
नगरपालिकाका अनुसार २०८१ को एसइई परीक्षामा लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १ सय ९४ जना छात्रा उत्तीर्ण भएका थिए। तीमध्ये आवश्यकता पहिचान गरेर १ सय १ जनालाई साइकल वितरण गरिएको अध्यक्ष अग्रवालले बताए।
छात्राहरूलाई साइकल वितरण गर्दै पूर्व अर्थ राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकारी विद्यालयका छात्राहरूलाई प्रोत्साहन हुनेगरी मैत्री केन्द्रले साइकल वितरण गरेर उनीहरूमा ऊर्जा प्रदान गरेको बताए।
विद्यार्थीहरूलाई हामी गाउँका, हामी फलाना जातका, सरकारी विद्यालयमा पढेका भनेर आफैंलाई निरूत्साहित नगर्न उनले आग्रह गरे।
‘संसारमा जसले मेहनत गर्छ उहीँ अगाडि बढ्छ,’ उनले भने, ‘जात, धर्मले नभई शिक्षा, इमानदारिता र मेहनतले मानिस ठूलो हुने भएकाले पढाइमा केन्द्रित हुनुस्, ग्रामीण क्षेत्रका बालबालिकालाई अगाडि बढाउन साइकल वितरणसँगै छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिनुपर्ने शाहले जोड दिए।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बता। साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने शर्माले बताए।
धेरैजसो दाताहरु सुविधा रहेकै क्षेत्रमा केन्द्रित हुने गरेको उल्लेख गर्दै जहाँ अभाव छ, त्यहीँ सहयोगका कार्यक्रम गर्न उनले आग्रह गरे।
सिद्वार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरूका लागि गोरेटो कोर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरिन्।
शिक्षा नै छोरीहरूका लागि लक्ष्य प्राप्ति गर्ने हतियार भएकाले पढाइमा केन्द्रित हुन उनको आग्रह छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन्। उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेको र आउँदा दिनमा पालिकासँग हातेमालो गर्न केन्द्रलाई आग्रह गरिन्।