गत हप्ताको आन्दोलनबाट बीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम बीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ।
यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो।
नेपाल टेलिकम बीरगन्जका प्रमुख पंकज साहले अराजक समूहको भीडले तोडफोड र आगजनी गर्दा टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्वपूर्ण उपकरणमा क्षति पुगेको बताए।
त्यसबाट करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको उनले जानकारी दिए।
'प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने, ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ।’
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ।
‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’ उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु। मुचुल्का तयार पर्दा श्रव्यदृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु।’
यहाँको बीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ।