भदौ २४ गते अपराह्नसम्म देशका धेरैजसो सरकारी कार्यालयहरू जलिसकेका थिए। चितवनको अवस्था पनि उस्तै थियो।
जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय जलाइसकेपछि प्रदर्शनकारीको ध्यान जिल्ला प्रहरी कार्यालयतिर थियो।
प्रहरीहरू कार्यालय जोगाउनमा केन्द्रित थिए।
भिडमा रहेका युवाहरू 'प्रहरी कार्यालय पनि छाड्न हुँदैन' भन्दै जोसिइरहेका थिए।
प्रहरी कार्यालयतिर अघि बढेको एउटा समूहले त्यहीँको भरतपुर महानगरपालिका वडा नम्बर १० को कार्यालय जलायो। बाँकी प्रदर्शनकारी प्रहरी कार्यालयको गेट अगाडि पुगेर नाराबाजी गर्न थाले।
कार्यालयको मूल गेटमा ठूलो संख्यामा हतियारधारी प्रहरीहरू उभिएका थिए। उनीहरू बेला बेला अश्रु ग्यास र हवाइ फायरका लागि 'पोजिसन' लिएजस्तो पनि गर्थे। तैपनि केही प्रदर्शनकारी पानीको बोतलले प्रहरी कार्यालयभित्र हान्दै थिए।
हतियारसहितका सयौं प्रहरीलाई कार्यालय जोगाउन हम्मे भइरहेको थियो।
त्यही बेला जिल्ला प्रहरीको परिसरमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीका हात भने रित्तै थिए।
उनीहरूले तत्कालै एउटा जुक्ति लगाए — प्रदर्शनकारीलाई पानी बाँड्ने।
उनीहरूले केही कार्टुन पानी किनेर ल्याए। अनि ट्राफिक प्रहरी कार्यालय नजिकै राखिएको ब्यारिकेडमा उभिएर प्रदर्शनकारीलाई पानी खुवाउन थाले।
यसै त चितवनको गर्मी, त्यसमाथि धुवाँको मुस्लो र अश्रु ग्यासले आँखा पोलिरहेको बेलामा बोतलको पानी पाउँदा प्रदर्शनकारी खुसी नहुने कुरै भएन।
युवाहरू ट्राफिक प्रहरीलाई धन्यवाद भन्दै पानी पिइरहेका थिए।


ट्राफिक प्रहरीहरू पनि यति गरेपछि त प्रदर्शनकारीहरू अन्यत्र 'डाइभर्ट' होलान्, कार्यालय जोगिएला भनेर खुसी हुँदै थिए।
तर उनीहरूको खुसी धेरैबेर टिक्न पाएन।
जिल्ला प्रहरीको अगाडिका केही युवा 'मोटरसाइकलको स्वरूप परिवर्तन, मापसे भनेर जरिवाना गर्ने ट्राफिक प्रहरी कार्यालयलाई किन छाडेको' भन्दै कराइरहेका थिए।
त्यो समूह ट्राफिक कार्यालय छिर्ने ब्यारिकेड अगाडि पुगेर हल्ला गर्न थाल्यो। उनीहरूलाई अरूले पनि साथ दिए।
ट्राफिक प्रहरीले बाँडेको पानी खाएकाहरूले पनि ब्यारिकेड तोड्न सहयोग गरे।
त्यतिखेरसम्म हतियार बोकेका जनपथ र सशस्त्र प्रहरी पनि ट्राफिक कार्यालय नजिक आइसकेका थिए। तर उनीहरूले भिड नियन्त्रण गर्न सघाएनन्।
हतियारबिहीन ट्राफिक प्रहरी ५ मिनेट पनि टिक्न सकेनन्। उनीहरूले कार्यालयको गेटभित्रबाट आड लगाएर प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेका थिए। तर भिडले गेट धकेलेरै छाड्यो।
भित्र पसेर प्रदर्शनकारीले कार्यालय परिसरमा रहेका सवारी साधन जलाए। अनि कार्यालयभित्र तोडफोड र आगजनी गरे।
प्रदर्शनकारीहरूले कार्यालयमा आगजनी गर्दा हतियारधारी प्रहरीले टुलुटुलु हेरे।


'हामीले तत्कालै पोसाक परिवर्तन गरेर सादा पोसाक लगाएपछि प्रदर्शनकारीलाई सम्झाऔं। मास्क लगाएर सादा पोसाकमा आएपछि त हामीलाई पनि आन्दोलनकारी ठाने होला। भयो अब पुग्यो भनेपछि थप तोडफोड नगरी फर्किए,' एक प्रहरीले सेतोपाटीसँग भने, 'हतियार बोकेकाले त कुनै प्रयासै गरेनन्।'
केही प्रदर्शनकारीले कार्यालयमा रहेका सामग्री समेत चोरेर लगे। केहीले कार्यालयबाहिर निस्किँदा ट्राफिक प्रहरीले लगाउने टोपी लगाए। उनीहरूले त्यही टोपी लगाएर ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाए।
साँझ वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि ६ लेन सडकमा केही युवाले प्रहरीको टोपी लगाएर, हातमा प्रहरीको लौरी लिएर भाषण नै गरे।
'कार्यालय परिसरमा रहेको मेरो साइकल पनि चोरी भयो। कारबाहीका लागि राखिएका सवारी साधन पनि जले। अरू धेरै सामग्री पनि चोरी भएको छ,' ट्राफिक प्रहरी निरीक्षक गायत्री शर्माले भने, 'जोगाउन धेरै प्रयास गर्दा पनि सकिएन।'
ट्राफिक प्रहरी कार्यालयको भुइँतलामा आगोले क्षति पुगेको छ।
ट्राफिक प्रहरी कार्यालय जलाउने समूह यातायात व्यवस्था कार्यालय पनि पुगेको थियो। त्यहाँ केही युवाहरूले तोडफोड गरिरहेका थिए। कोही भित्रको सामान सडकमा ल्याएर जलाइरहेका थिए।
'लाइसेन्समा तीन पटक फेल गराउने कार्यालय यही हो, भित्रै आगो लगाउनुपर्छ' भन्दै त्यो समूह यातायात कार्यालयभित्र प्रवेश गर्यो।
केहीबेरमा कार्यालयको माथि धुवाँको मुस्लो देखिन थालिहाल्यो।
त्यसपछि उनीहरू जिल्ला समन्वय समिति चितवनको कार्यालय प्रवेश गरे। त्यस कार्यालयभित्र रहेको भूमि समस्या समाधान आयोग, पूर्वाधार कार्यालयमा तोडफोड र आगजनी गरे। प्रदर्शनकारीले जिल्ला समन्वय समितिको क्यान्टिन पनि छाडेनन्।
'अब ऊ त्यो टावर भएको कार्यालय पनि जलाइदिनुपर्छ,' नेपाल टेलिकमको कार्यालय देखाउँदै एक आन्दोलनकारी भन्दै थिए।
अर्काले जबाफ फर्काए, 'अरे यार त्यो जलाइस् भने भरेबाट फेसबुक कसरी चलाउँछस्! भिडिओ हाल्न त नेट चाहिन्छ होला नि बुद्धु!'
त्यसो भए कारागार जाम साथीहरूलाई छुटाउन– पहिलो व्यक्तिले प्रस्ताव राखे।
त्यहाँ त सेना बसेको छ, गोली हान्छ – दोस्रोले तर्साए।
त्यसपछि उनीहरू जिल्ला प्रहरी कार्यालयतर्फ लागेका थिए।

