गत भदौ २७ गते बिहान ११ बजेतिर नियमित चेकअप (परीक्षण) मा आउने चिकित्सकले केशव लिम्बूलाई भने– आज तपाईं घर जान सक्नुहुनेछ।
त्यसको पाँच दिनअघिदेखि अस्पतालको वार्डमा रहेका केशव असीमित खुसी भए।
साथीहरूसँग हातेमालो गरेर अघि बढ्नुपर्ने बेलामा अस्पतालको चार दिवारभित्र बस्नुपर्दा उनी बेचैन थिए।
‘खुट्टाले हिँड्न सकिरहेको थिइनँ तर बाहिरको माहोल देखेर अस्पतालमा बसिरहन गाह्रो भएको थियो,’ उनले भने, ‘डाक्टहरूले आज तपाईंको डिस्चार्ज हुन्छ भन्दा साह्रै खुसी लाग्यो।’
भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनबाहिर उनको बायाँ खुट्टामा गोली लागेको थियो। साथीहरूले उनलाई नजिकैको सिभिल अस्पताल पुर्याएका थिए।
त्यही दिनदेखि उनी अस्पतालमा थिए। डिस्चार्ज हुने जानकारी पाएपछि साथीहरूलाई फोन गरेर सुनाए।
उनी साथीहरूसँग भक्तपुरमा बस्छन्। काठमाडौं ‘स्कुल अफ ल’ मा स्नातक तह चौथो सेमेस्टरका विद्यार्थी हुन्।
उनी चिकित्सकहरूले भनेकै दिन अपराह्न चार बजेतिर अस्पतालबाट बाहिरिए।
उनले अस्पलालाई उपचार शुल्क बुझाउनु परेन। उनले भने, ‘पाँच दिन उपचार गरेर निस्किँदा पनि शुल्क तिर्नुपरेन। तिर्नुपरेको भए त मेरो बिजोग हुने थियो।’
आन्दोलनका सबै घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।
अस्पतालबाट डिस्चार्ज भएपछि केशव साथीहरूसँगै बसे। बाआमालाई फोन गरेर आफू डिस्चार्ज भएको खबर सुनाए। बाआमाले चाँडै घर आउन भने।
डिस्चार्ज भएको भोलिपल्टै, भदौ २८ गते, केशव घर पुगे।
उनी झापाको हल्दीबारी गाउँपालिका–२ का बासिन्दा हुन्। आमाबुबाका तीन सन्तानमध्ये उनी एक्ला छोरा हुन्। उनका दुई दिदी छन्। आमाबुबा कृषक हुन्।
‘घाइते भएदेखि नै आमाले पीर गरिरहनुभएको थियो। डिस्चार्ज हुनासाथ घर गएँ,’ केशवले भने, ‘साथीहरूको सहयोगमा प्लेन टिकट लिएर घर पुगेँ।’
उनी बिहान चाँडैको जहाजबाट भद्रपुर पुगे। उनका बुबा छोरो लिन विमानस्थलमा गएका थिए।
छोरो भेट्नासाथ बुबाले सोधे– खुट्टा टेक्न सक्छस् त?
केशवले सेतोपाटीसँग भने, ‘आन्दोलन र त्यस बेलाका दृश्यहरूको कुरा गर्दै घर पुग्यौं।’
आमा बाटो हेरेर बसेकी थिइन्। छोरो देख्नासाथ भावुक भइन्। आँखा आँसुले भरिए।
‘गहभरि आँसु पार्दै आमाले धन्न बाँचिस्, तँलाई देखेर सास आयो भन्नुभयो,’ केशवले भने, ‘निकै बेर आमाले मलाई हेरिरहनुभयो। म पनि बोल्न सकिनँ।’
आमाको मुख्य चिन्ता थियो– गोली खुट्टामा लाग्यो, अलिक माथि लागेको भए के हुन्थ्यो!
केही बेरमा स्थिति सामान्य भयो। केशवले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ठूलो क्षति नभएको कुरा बताए। आमाबुबालाई सम्झाइबुझाइ गरे।
आमा चाहन्थिन् केशव आराम गरेर केही दिन घरमै बसून् तर उनी त्यसरी बस्न सकेनन्। आफ्नो गाउँका जेन–जी साथीहरू पनि घाइते भएको जानकारी पाएका थिए।
उनले भने, ‘काठमाडौंमा हुँदा नै गाउँमा पनि साथीहरू घाइते भएका छन् भन्ने थाहा पाएको थिएँ। घरमा बसिरहन सकिनँ। पुगेको दिन र भोलिपल्ट घर बसेर अर्को दिन बाहिर निस्केँ।’
केशवले मोटरसाइकल भएका एक साथीलाई आग्रह गरे। आफू मोटरसाइकलको पछाडि बसे अनि घाइते साथीहरूको अवस्था बुझ्न अस्पताल र घर घुम्न थाले।
उनका अनुसार केही घाइतेहरू बिर्तामोडमा रहेका ‘बि एन्ड सी’ र ‘बिर्ता सिटी अस्पताल’ मा छन्।
ती अस्पतालले उपचारको पैसा मागेको र केही घाइतेलाई उपचार पूरा नभई डिस्चार्ज गरिदिएको उनको भनाइ छ।
‘कतिपय घाइतेलाई कोही साक्षी बसेपछि मात्र अहिले पैसा नतिराउने भनिएको रहेछ। केही साथीका लागि हामी नै साक्षी बसेका छौं,’ उनले भने, ‘यो पीडाको खबर जेन–जी साथीहरू र सरकारसमक्ष पुर्याउन चाहन्छु।’
केशव कुनै पनि जेन–जी समूहमा प्रत्यक्ष आबद्ध छैनन् तर जेन–जीले उठाएका मुद्दामा सहमत छन्। त्यसैकारण आफू आन्दोलनमा सहभागी भएको उनले बताए।
उनी घर पुगेपछि केही स्थानीय नेताहरू उनलाई भेट्न आएका थिए।
उनले ती नेताहरूलाई आफूले भनेको कुरा सेतोपाटीलाई सुनाए, ‘म निःस्वार्थ ढंगले आन्दोलनमा सहभागी भएको हुँ, तपाईंहरू स्वार्थका कुरा नगर्नुहोस्। भ्रष्टाचारशून्य र समुन्नत नेपाल बनोस् भन्ने हाम्रो चाहना हो।’