रूपन्देहीको गैंडहवामा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार गैंडहवा गाउँपालिका वडा नं. ६ कानिजवा निवासी ७५ वर्षीय रामरतन सैठवार र र उनकी श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी निरीक्षक पुष्पराज रोकायाका अनुसार बुधवार बिहान विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको हो।
बिहान ह्याण्डपाइपबाट पानी तान्न भन्दै पावर सकेटमा मोटरको तार जोड्दा अकाली सिंहलाई करेन्ट लागेको थियो। श्रीमतीलाई करेन्ट लागेको देखेपछि छुटाउन गएका रामरतनलाई पनि सोही करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरमा रहेको तारमा पावर सकेटमा जोड्ने टुपिन नभएको पाइएको छ। नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले बताए।
करेन्ट लागेर मृत्यु भएका दुवैको शव अहिले पोस्टमर्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।