भदौं २४ गते जेन-जी आन्दोलन क्रममा भागेका तीन जना थुनुवा आफैं कारागार फर्किएका छन्।
पूर्व गृहसचिव टेकनारायण पाण्डे र प्रतीक थापा मंगलबार साँझ सुन्धरा कारागारमा आफैं उपस्थित भएका हुन्।
बेचन झा भने बुधबार दिउँसो हाजिर हुन आइपुगेको कारागार प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए।
उनीहरू तीनै जना भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
'हामीले सार्वजनिक सुचना निकालेका थियौं। उहाँहरू आफै हाजिर हुन आउनुभयो,' उनले भने, ' उहाँहरू मात्र होइन अरू कैदी, थुनुवाहरू पनि आउने क्रम जारी छ।'
कारागारमा ३ हजार ७ सय भन्दा बढी कैदीहरू थिए। त्यसमध्येमा अझै २ हजार आउन बाँकी रहेको उनको भनाइ छ।
पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि मंगलबार कारागार फर्किएका थिए।
सानु भण्डारी र केशव दुलाललाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो।