रूपन्देहीको गैंडहवामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं. ६ कानिजवा निवासी ७५ वर्षीय रामरतन सैठवार र ६८ वर्षीय अकाली सिंह सैठवार रहेका छन्। उनीहरू श्रीमान् श्रीमती हुन्।
इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी निरीक्षक पुष्पराज रोकायाले बुधबार बिहान विद्युतको प्लगमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको जानकारी दिए।
बिहान हेण्डपाइपबाट पानी तान्न भन्दै विद्युतको प्लगमा मोटरको तार जोड्दा अकाली सिंहलाई करेन्ट लागेको थियो। श्रीमतीलाई करेन्ट लागेको देखेपछि छुटाउन गएका रामरतनलाई पनि सोही तारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरमा रहेको तारमा विद्युत प्लगमा जोड्ने टुपिन नभएको र नांगो तार प्लगमा जोड्ने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले बताए।
करेन्ट लागेर मृत्यु भएका दुवै जनाको शव अहिले पोस्टमर्टमको लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।