सँगै रहेका मध्य एक जना सम्पर्कविहीन भएपछि प्रहरीले तीन जना उनका साथीहरुलाई सोधपुछ गरिरहेको छ ।
धनगढीका ३५ वर्षीय वीरेन्द्र चन्द रातिदेखि सम्पर्क बिहिन छन् ।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले वीरेन्द्रको मोबाइल स्वीच अफ रहेको र हालसम्म पनि सम्पर्कबिहीन भएपछि सोधपुछ गरिएको बताए।
उनी सम्पर्कबिहीन भएपछि गएराति सँगै रहेका धनगढी उपमहानगरपालिका गोदावरी बस्ने उनका तीन साथीहरु विनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
‘चन्दको परिवारको सूचनाका आधारमा गएराति संगै रहेका तीन जना साथी माथि सोधपुछ भइ रहेको छ,’ डिएसपी सिंहले भने ‘ प्रहरीको नियन्त्रणमा रहेका तीनै जनाले चन्द घर जान्छु भनेर गएको भनेका छन्।’
प्रहरी स्रोतका अनुसार दसैंको अवसरमा चार जना साथीले गएराति सँगै मदिरा सेवन गरेका थिए।
तर, चारमध्ये चन्द हालसम्म पनि सम्पर्कमा नआएको तथा मोबाइमा पनि सम्पर्क हुन नसकेको डिएसपी सिंहले बताए।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। प्रहरीले चन्दको खोजी कार्यपनि जारी राखेको छ ।