ज्ञानज्योति फाउन्डेसनले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त तुलसीपुर उपमहानगरका सरकारी कार्यालयहरूलाई दैनिक कामकाज सहज होस् भनेर लाखौं मूल्यका सामग्री हस्तान्तरण गरेको छ।
संस्थापक प्रिन्सिपल टिकाबहादुर जिसीले मेयर टीकाराम खड्कालाई ९ कम्प्युटर, ४ प्रिन्टर, ३ स्क्यानर, १० स्टिल दराज, २ सेट सोफा, १२ घुम्ने कुर्सी र २० प्लास्टिकका कुर्सी लगायतका सामग्री बुझाएका हुन्।
जिसीले तोडफोड, आगजनी र लुटपाटका कारण कार्यालय सञ्चालनमै कठिनाइ आएको भन्दै सबै व्यापारी, उद्योगी तथा संघ–संस्थालाई सहयोगमा हातेमालो गर्न आह्वान गरे।
सामग्री बुझ्दै मेयर खड्काले संकटको समयमा गरिएको सहयोगले पुनर्निर्माणलाई टेवा पुग्ने उल्लेख गर्दै उद्योगी–व्यापारीसँग थप सहयोगको आग्रह गरे।
‘मैले पुर्खाहरूले भनेको सुनेको थिएँ, आगो लगाएको वन छिट्टै हराभरा हुन्छ रे,’ उनले भने, ‘आगो झोसेर खण्डहर पारिएका तुलसीपुरका यी सबै सरकारी कार्यालयहरू पनि सबै नगरबासीको सहयोगबाट छिट्टै पूर्ववत् अवस्थामा पुग्ने छन् भन्ने विश्वास छ।’
तुलसीपुर उपमहागनरपालिका आफैमा राज्य भएको हुँदा प्राप्त सामग्री आफूले प्रयोग नगरी अन्य सरकारी कार्यालयहरूलाई आवश्यकताका आधारमा वितरण गरिने बताए।
‘हामी आफै सरकार हौं र हामीले आफ्नो व्यवस्था आफै गर्नेछौं,’ मेयर खड्काले भने, ‘तर, ती सरकारी कार्यालयहरू जहाँ तत्कालै फर्निचर लगायत आवश्यक सामग्री खरिद गर्ने बजेटको व्यवस्था छैन। त्यस्ता कार्यालयहरूको सेवा तत्कालै संचालन गर्न हामी समन्वयकारी भूमिका खेल्दै छौं र सबै उद्योगी ब्यापारी तथा संघ संस्था संग हात जोड्दै सहायता मागिरहेका छौं।’
फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक (सिइओ) सुरेन्द्रबहादुर जिसीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण अपुरणिय क्षति पुगेको र त्यसले आम सर्वसाधारणले दुःख पाउने अवस्था सृजना भएको बताए।
यसअघि गोरखा स्कुल प्रालिले पनि २ डेस्कटप कम्प्युटर र ४ स्टिल दराज सहयोग गरेको थियो, जुन सरकारी वकिल कार्यालय र इलाका प्रशासन कार्यालयलाई वितरण भइसकेको छ।