कारागार व्यवस्था विभागले भागेका कैदीबन्दीलाई फर्किन अनुरोध गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले कैदीबन्दीहरूलाई असोज २० गतेभित्र फर्किन अनुरोध गरेको हो। त्यसदिनसम्म पनि नफर्किनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
भागेका कैदीबन्दीहरूको हकमा कारागार ऐन, २०७९ र अन्य कानुनअनुसार कारबाही हुनसक्ने व्यवस्था छ।
विभागले खोजी, नियन्त्रण र पक्राउ गरी कारागार फिर्ता ल्याउन हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल बनाएको छ।
‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरी खोजी थालिने भएको छ।
भदौ २४ गते देशभरिका २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दीहरू फरार भएका थिए। यसरी फरार भएका आधा भन्दा बढी कैदीबन्दीहरू फर्किसकेका छन्।
तर अझै हजारौंको संख्यामा कैदीबन्दीहरू फर्किएका छैनन्।
यसरी नफर्किएकाहरूलाई प्रहरीले पक्राउ गर्न थालिसकेको छ।
देशभरि ३० हजार ६४१ कैदीबन्दी छन्। त्यसमध्ये १४ हजार ४५९ जना फरार भएका थिए। फरार भएकाहरूमध्ये पनि ७ हजार ७३५ जना फर्किसकेका छन्।
६ हजार ८१४ जना अझै फरार छन्।