नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूबीच छलफल भएको छ।
शुक्रबार जंगी अड्डामा पछिल्लो समसामयिक परिस्थितिबारे छलफल गर्न प्रधान सेनापति अशोकराज सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका हुन्।
पछिल्लो समय भदौ २३ र २४ गते भएको घटनाबारे नेपाली सेनाले गम्भीरतापूर्वक हेर्दै आएको छ।
नेपाली सेनाले अन्तरिम सरकार गठनको प्रक्रियामा खेलेको भूमिकाबारे प्रशंसा र ठूला प्रशासनिक भवन नजोगाएकोमा आलोचना पनि हुँदै आएको छ।
भदौ २४ गते रातिदेखि सेनाले कर्फ्यु जारी गरी स्थिति नियन्त्रणमा लिएको थियो।
शुक्रबार यी गतिविधिबारे छलफल भएको जंगी अड्डाले जनाएको छ।
यस्तै बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूसँग पनि प्रधान सेनापति सिग्देलले छलफल गरेका थिए।
आठ जना पृतनापतिहरूसँग भर्चुअल माध्यमबाट समन्वयात्मक बैठक समेत सञ्चालन गरेका थिए।
सेनाले हरेक वर्ष दुई पटक पृतनापति समन्वयात्मक बैठक राख्ने गरेको छ।