पर्साको छिहपरमाई गाँउपालिका-५ भिस्वामा गोली चलेको घटनाबारे अनुसन्धान जारी छ।
घटना भएको तीन दिन बितिसक्दा पनि प्रहरीले गोली चलाउने व्यक्ति र कारण पत्ता लगाउन सकेको छैन। गोली कसले र किन गोली हानेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धानका लागि ल्याइएको र सोधपुछ चलिरहेको भन्दै प्रहरीले उनीहरुको परिचय गोप्य नै राखेको छ ।
बिहीबार बेलुकी गाँउपालिका कार्यालय पछाडि सडकमा दुई समूहबीच भएको झडपमा गोली चलेको थियो।
अपरिचित व्यक्तिले चलाएको गोली लागेर भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका थिए। आलमको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
अनुसन्धानका क्रममा प्रहरीले घाइते गोलुसँग पनि सोधपुछ गरेको छ ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले बिहीबार राति नै तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।
‘घटनाबारे केही खुल्न सक्छ भनेर उनीहरुसँग सोधपुछ गरिरहेका छौं, उनीहरु नै प्रत्यक्ष संलग्न भएको, सहयोग गरेको वा उक्साएको हुन सक्छ,’ उनले भने, ‘कारण निर्क्यौल हुन सकेको छैन, प्रत्यक्षदर्शीहरुसँग सोधपुछ गरेर शंकास्पद अन्यको पनि खोजी गरिरहेका छौं।’
पक्राउ परेका युवकहरु १७/१८ वर्ष उमेर समूहको रहेकोले सामान्य विवाद बढेर पनि घटना भएको हुन सक्ने उनको आशंका छ।
उनीहरुको संलग्नता खुलेको खण्डमा त्यसैअनुसार मुद्दा प्रक्रिया अगाडि बढाइने उनले बताए ।
‘अनुसन्धान लगभग अन्तिम चरणमा छ, घटना हुँदा उनीहरुको भूमिका अनुसार मुद्दा चलाउँछौं,’ डिएसपी बस्नेतले भने ।
गोलुले भने घरतर्फ जाँदै गर्दा युवकहरुबीच विवाद भइरहेको स्थानबाट चलेको गोली आफूलाई लागेको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिएका छन्।
सिमावर्ती गाउँमा भएको घटनापछि गोली चलाउने व्यक्ति भारततर्फ भागेको आशंका प्रहरीले गरेको छ।