जेनजी प्रदर्शनका क्रममा मारिएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारलाई सरकारका तर्फबाट राहत हस्तान्तरण गरिएको छ।
कास्कीका सिडिओ रुद्रादेवी शर्मासहित जिल्ला सुरक्षा समितिका सदस्यहरू गुरुङको घरमै पुगेर परिवारलाई आर्थिक सहायताको चेक हस्तान्तरण गरेका हुन्।
सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको थियो। सोही रकम मृतक गुरुङका परिवारलाई हस्तान्तरण गरिएको कास्कीका सिडिओ शर्माले जानकारी दिएकी छिन्।
कास्कीको रुपा गाउँपालिका–५ रामादीका गुरुङ ७ वर्षअघि नेपाल प्रहरीमा भर्ना भएका थिए। प्रहरी प्रभाग कोटेश्वर काठमाडौंमा कार्यरत गुरुङलाई प्रदर्शनकारीले भदौ २४ गते गरेको आक्रमणमा परी मृत्यु भएको थियो।
सिडिओ शर्माले मृतक गुरुङका श्रीमती कान्ति गुरुङलाई चेक हस्तान्तरण गरेकी थिइन्।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार गुरुङका २२ महिनाको छोरा, श्रीमती, बुबा र हजुरबुबा छन्। उनका आमाको ९ महिनाअघि मृत्यु भएको थियो।