अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कौटकी १० वर्षीया अरूणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले दुर्घटनाका घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको सेतोपाटीलाई बताए।
बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको फुर्कौट तर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी ७० मिटर तल खसेको थियो।
सन्धिखर्क–ढोरपाटन सडक खण्डअन्तर्गत सन्धिखर्कबाट गुल्मी पुर्कौट दहतर्फ जाँदै गरेको उक्त जीप अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ९ टारीमा बिहान साढे ३ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
गम्भीर घाइते हुनेहरूमा गुल्मी मदाने गाउँपालिका– ६ की ३२ वर्षीया तारा सेन केसी, रूपन्देहीको बुटवल उपमहानगरपालिका– १९ पत्थरगञ्जकी १३ वर्षीया सञ्जिता कुवँर, गुल्मी मदाने– ७ नेटाखर्ककी २१ वर्षीया उषा घर्ती मगर र मदाने– ६ की ३३ वर्षीया गंगा थापाको अवस्था गम्भीर छ। गम्भीर घाइते सबैलाई उपचारका लागि बुटवल रिफर गरिएको डिएसपी जिसीले बताए।
मदाने– ५ का ४२ वर्षीय चालक चेतबहादुर कुवँर पनि घाइते छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार जीपमा चालकसहित २६ जना सवार थिए।
दुर्घटनालगतै राति नै घटनास्थल पुगेका अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीका अनुसार दुर्घटना सजिलै बाटो भएको देखिन्छ।
‘दाँयाबाट गुड्नु पर्ने जीप बाँया तर्फ भई दुर्घटनामा परेको देखिएको छ,’ जिसीले भने ‘चालक निदाएकाले दुर्घटनामा परेको आशंमा पनि गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।’