नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट लेख्दै महासचिव पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट पार्टीले आफूलाई जोगाउन नसकेको पनि निष्कर्ष निकालेका छन्।
‘हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो। हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नव युवाहरूको विश्वास जित्न सकेनौं,’ उनले भनेका छन्, ‘उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं।’
तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशिता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने नभएको उनको बुझाइ छ।
‘ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ। नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध छ,’ उनले भनेका छन्।