जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि बाटो ढुकेर आक्रमण गर्नेहरू आफ्नै घरपरिवारका सदस्य रहेको खुलेको छ।
छेडागाड नगरपालिका-५ चखेलीस्थित सडकमा बाटो ढुकेर अज्ञात युवाले आइतबार बेलुकी साढे ६ बजेतिर अध्यक्ष बस्नेतमाथि खुकुरी प्रहार गरेका थिए।
अध्यक्ष बस्नेत मोटरसाइकलमा जाजरकोटबाट सुर्खेत जाँदै थिए। उनीसँगै ३९ वर्षीय नवराज शाही र कुशे–७ का २८ वर्षीय दीपेन्द्र सिंह पनि यात्रामा थिए।
त्यसक्रममा अध्यक्ष बस्नेतमाथि आक्रमण गर्न खोजेपछि शाही र सिंहले रोकेका थिए। शाहीको बायाँ नाडी र सिंहको टाउको तथा खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
खुकुरी प्रहारबाट घाइतेमध्ये सिंहको बाँकेको नेपालगंजस्थित नर्सिङ होममा उपचार जारी छ।
यसरी आक्रमण गर्नेहरू अज्ञात भनिएपनि परिवारकै सदस्यहरू रहेको अनुसन्धानबाट खुलेको छ।
डिएसपी शर्माले आक्रमण गर्नेको पहिचान खुलिसकेको र परिवारकै सदस्य रहेको बताएका छन्।
पालिका अध्यक्ष बस्नेतले किटानी जाहेरी दिने तयारी समेत गरेका छन्। प्रहरीले पनि आक्रमण गर्नेको खोजी गरिरहेको डिएसपी शर्माले बताए।
अध्यक्ष बस्नेतले पनि आक्रमण गर्नेहरू परिवारकै सदस्य रहेको बताए।
‘मलाई बाटो ढुकेर खुकुरी प्रहार गर्नेहरू मेरा भाइहरू हुन्,’ बस्नेतले भने, ‘मलाई बाटो ढुकेर खुकुरी प्रहारको प्रयास गर्नेहरू गाउँघरकै काकाका छोराहरू हुन्।’
२६ वर्षीय प्रकाश बस्नेत र २४ वर्षीय रामु बस्नेतको योजनामा आक्रमण गरिएको उनको भनाइ छ। उनीहरूले अरू अपरिचित व्यक्तिहरूलाई बोलाएर आक्रमण गरेको आशंका छ।
प्रकाशले केही समयदेखि अध्यक्ष बस्नेतलाई फोनमार्फत धम्की दिएको आरोप छ।
यद्यपि अध्यक्ष बस्नेतले यसलाई वास्ता गरेका थिएनन्।
सुर्खेत जाँदै गर्दा भने बाटो ढुकेर बसेका उनीहरूको समूहले खुकुरी र हेलमेटले समेत प्रकार गरेका थिए। अध्यक्षसँग गएका सिंह र शाहीलाई घाइते बनाएपछि उनीहरू जंगलतर्फ लुकेका थिए। अध्यक्ष बस्नेतले पनि गाडी मुनि लुकेर ज्यान जोगाएका थिए।
उनले आफूमाथि आक्रमण गर्नुको कारण पनि खुलाएका छन्।
दुई वर्षअघि प्रकाशले नेपालगन्जका नवराज शाहीमाथि खुकुरी प्रहार गरेको आरोप छ। खुकुरी प्रहार गरेपछि ज्यान मार्ने उद्योग कसुरमा प्रकाश पक्राउ परे। उनी पुर्पक्षका लागि ६ महिना कारागार बसे।
कारागारमा हुँदा प्रकाशले अध्यक्ष बस्नेतलाई छुटाइदिन अनुरोध गरेका थिए। तर नछुटाएको निहुँमा रिसाएका थिए।
‘त्यही रिसइबीले मलाई भाइले पटक–पटक धम्की दिने गरेको थियो,’ उनले भने, ‘के गर्ला भन्ने सोचेर कहिलै वास्ता नै गरिन।’
तर उनै प्रकाशले अहिले आक्रमण गरेको उनको आरोप छ।