भदौ २४ गते देशभर भएको तोडफोड र आगजनीबाट दाङ जिल्ला अदालत पनि अछुतो रहेन।
तर एक जना प्रहरीले आफ्नो विवेक र बहादुरी देखाउँदा दाङ जिल्ला अदालत भवन पूर्ण रूपमा आगजनीको सिकार हुनबाट बच्यो।
त्यति बेला अदालतमा प्रहरी सहायक निरीक्षक दिपक चन्दको कमान्डमा ६ जना प्रहरी कार्यरत थिए। तीमध्ये प्रहरी सहायक हवल्दार संगीता अधिकारी एक थिइन्। उनी एक्लैले प्रदर्शनकारीहरूको भीडसामु हात जोडेर जिल्ला अदालतलाई पूर्ण रूपमा जल्नबाट बचाइन्।
त्यस दिन जेन–जी आन्दोलनले उग्ररूप लिँदै गएपछि प्रहरीहरूलाई सकेसम्म 'आफू कार्यरत कार्यालयको सुरक्षा गर्नू' भन्ने आदेश आएको थियो। नसकेको खण्डमा 'आफ्नो हतियार र पोसाकको मात्र भए पनि सुरक्षा गर्नू' भनिएको थियो।
त्यसै अनुरूप जिल्ला अदालतमा खटिएका ६ जना प्रहरीमध्ये ४ जना कोठाभित्र बसेर हातहतियारको सुरक्षामा लागे। कमाण्डर चन्द र सहायक हवल्दार संगीता भने बाहिर प्रदर्शनकारीहरूलाई सम्झाइ–बुझाइ गर्न खटिए।
प्रदर्शनकारीहरू विभिन्न समूहमा अदालत तोडफोड र आगजनी गर्न आएका थिए। त्यसमध्ये दुइटा समूहलाई संगीता र चन्दले हात जोड्दै अदालतमा महत्त्वपूर्ण कागजात भएकाले क्षति नपुर्याउन अनुनय गरे।
ती प्रदर्शनकारीले उनीहरूको कुरा बुझे र फर्किए।
तेस्रोपटक आएको भीडलाई भने उनीहरूले थेग्न सकेनन्। पटक पटक बिन्ती गर्दा पनि उनीहरूले अदालतमा छिरेर तोडफोड गरे।
तर संगीताले हरेस खाइनन्।
उनले प्रदर्शनकारीहरूसामु निरन्तर हात जोडिरहिन् र सम्झाइरहिन्।
संगीताले आफ्नो ड्युटी निर्वाह क्रममा देखाएको यो संवेदनशीलता र निडरताको भिडिओ त्यति बेला सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उनले प्रदर्शनकारीहरूलाई भनेकी थिइन्, 'भाइ यो जलाउने ठाउँ होइन, यो तपाईं–हाम्रै करबाट बनेको अदालत हो। यसमा तोडफोड र आगो लगाउँदा धेरै मिसिलहरू जलेर भष्म हुन्छन्। त्यसपछि कसरी अपराधीले सजाय पाउलान्?'
तैपनि अदालत तोडफोड हुने छनक देखेपछि संगीताले एउटा उपाय सोचिन्।
उनले घोराही चोकमा ड्युटीमा रहेकी महिला प्रहरीलाई श्रीमानले गोली हानी हत्या गरेको घटना स्मरण गराइन्।
'प्लिज भाइ अब पुग्यो। यो तोडफोड र आगजनी गर्ने ठाउँ होइन,' उनले हात जोड्दै भनिन्, 'यदि योभन्दा बढी भयो भने ती गोली हानेर मारिएकी महिला प्रहरीले कसरी न्याय पाउँछिन्?'
केही प्रदर्शनकारी सहायक हवल्दार संगीताको कुरा सुनेर पछि हटे। कसैले टेरेनन्।
संगीताले भने अदालत जोगाउन अथक प्रयास गरिरहिन्।
त्यति बेलासम्म अदालतको श्रेस्तेदार कक्ष, कानुन व्यवसायीको कार्यकक्षमा आगजनी भइसकेको थियो। अर्को समूहले अभिलेख शाखामा आगो लगाएको थियो, तर खासै क्षति भएको थिएन।
प्रदर्शनकारीहरू आगजनी गरेर फर्किनासाथ संगीता लगायत अदालतका कर्मचारीले अभिलेख शाखामा लागेको आगो नियन्त्रणमा लिए।
त्यस दिन संगीताको एकल प्रयासले कतिपय प्रदर्शनकारी हच्किँदा दाङ जिल्ला अदालतमा ठूलो क्षति हुन पाएको थिएन।
उनै संगीतालाई बिहीबार जिल्ला अदालतले उनको अथक प्रयासको कदर गर्दै पाँच हजार रूपैयाँ नगद र कदरपत्रसहित सम्मान गरेको छ।

'भदौ २४ गतेको घटनामा संगीता अधिकारीले अदालतमा तोडफोड र आगजनी हुँदा पनि प्रदर्शनकारीहरूलाई निरन्तर सम्झाउने-बुझाउने कोसिस गरेको देखियो,' अदालतका सूचना अधिकारी गोकर्ण वलीले भने, 'उहाँले हात जोडेर रोक्न प्रयासले गरेकाले अदालतमा थप क्षति हुन पाएन। त्यसैले उहाँलाई नगदसहित सम्मान गरेका छौं।'
जिल्ला अदालतको हलमा भएको सम्मान कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले गरेका थिए। कार्यक्रममा अदालतका छ जनै जिल्ला न्यायाधीश उपस्थित थिए।
श्रेस्तेदार भुपाल भण्डारीले प्रहरी सहायक हवल्दार संगीताका कारण अदालतमा थप क्षति हुन नपाएको भन्दै धन्यवाद दिएका थिए।
सम्मानित संगीताको घर दाङकै घोराही उपमहानगरपालिका–१ मछाहीमा पर्छ। उनका श्रीमान प्रेम कोइराला सशस्त्र प्रहरीका हवल्दार हुन्। उनी रौतहटमा कार्यरत छन्।
अदालत जोगाउन आफूले खेलेको भूमिकाको सबैले प्रशंसा गर्दा खुसी लागेको संगीता बताउँछिन्।
आक्रोशित भीडलाई सम्झाउन सकिन्छ भन्ने हिम्मत कसरी आयो भन्ने प्रश्नमा संगीताले आफ्नो कार्यालयमा भइरहेको तोडफोड र आगजनी हेर्न नसक्दा स्वस्फूर्त हिम्मत आएको बताइन्।
'आफ्नै आँखा अगाडि कार्यालयमा तोडफोड र आगजनी भएको हेर्न सकिनँ,' उनले भनिन्, 'प्रदर्शनकारीहरूलाई रोक्न सक्दो प्रयास गर्छु भनेर सम्झाइबुझाइ गरेँ। उहाँहरूले पनि मेरो कुरा सुनेर फर्किएर जानुभयो।'
आफूले प्रहरीको जिम्मेवारी मात्र निर्वाह गरेको उनी बताउँछिन्।
'आफ्नै संगठनका एसपी, सिडिओ र प्रमुख जिल्ला न्यायाधीश सबैले खादा, माला लगाएर बधाई दिनुभयो,' उनले भनिन्, 'मैले यस्तो कल्पना पनि गरेकी थिइनँ। यसले म निकै हर्षित छु। अबका दिनमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खट्ने छु।'
***