अमेरिकाको फ्लोरिडाका तीन दाजुभाइलाई दर्जनौं महिलालाई लागुऔषध खुवाएर बलात्कार गरेको अभियोगमा न्युयोर्कको अदालतले जनही ३० वर्ष जेल सजाय सुनाएको छ।
जेल सजाय पाएकामा जुम्ल्याहा ओरेन अलेक्जान्डर र एलन अलेक्जान्डर (३९) र उनका ४० वर्षका दाजु ताल अलेक्जान्डर रहेको द गार्डियनले जनाएको छ।
उनीहरूलाई गत मार्चमा पाँच सातासम्म चलेको सुनुवाइपछि बलात्कार लगायत विभिन्न अभियोगमा दोषी ठहर गरिएको थियो।
अदालतमा प्रस्तुत प्रमाण अनुसार उनीहरूले मायामी, न्युयोर्क तथा अमेरिकाका अन्य विलासी गन्तव्यमा वर्षौंसम्म महिलामाथि यौन हिंसा गरेका थिए।
न्युयोर्कको ह्याम्पटन, कोलोराडोको एस्पेन र क्यारेबियन क्षेत्रमा गरिएको एक समुद्री यात्राका क्रममा समेत महिलामाथि दुर्व्यवहार भएको अभियोजन पक्षले जनाएको छ।
म्यानह्याटन स्थित अदालतमा मंगलबार सजाय सुनाउने क्रममा पीडित १२ महिलाले आफ्ना अनुभव सुनाएका थिए। केही महिलाले आफ्नो वास्तविक नाम सार्वजनिक नगरी बयान दिएका थिए।
तालले सन् २०१४ को अगस्टमा आफूलाई बलात्कार गरेको एक महिलाले बताइन्। उक्त घटनाले आफ्नो जीवन र सम्बन्धप्रतिको दृष्टिकोण नै बदलिदिएको उनको भनाइ थियो।
‘मभित्र एउटा मौन अन्त्येष्टि बोकेर हिँडिरहेकी छु। यो घटना नभएको भए म कस्तो व्यक्ति बन्न सक्थेँ भन्ने सम्भावनाको अन्त्येष्टि,’ उनले भनिन्।
‘तालले मलाई बलात्कार गरेको प्रत्येक सेकेन्ड अनन्त आतंकजस्तो लागेको थियो,’ उनले भनिन्।
अर्की महिलाले ह्याम्पटनस्थित एउटा घरमा लागुऔषध खुवाएर कोठामा लगिएपछि आफू बलात्कृत भएको बताइन्।
‘मलाई सुन्दर लागेको त्यो ठाउँ मेरा लागि भयावह महल बन्यो, अँध्यारा रहस्यले भरिएको महल,’ उनले अदालतमा भनिन्।
तीनै भाइ जेलका पोसाकमा अदालतमा उपस्थित थिए। उनीहरूले पीडित महिलाका बयान सुन्दा कुनै प्रतिक्रिया नदेखाएको समाचारमा उल्लेख छ।
सुनुवाइका क्रममा उनीहरूका वकिलले तीनै भाइ महिलासँग धेरै सम्बन्ध राख्ने स्वभावका भएको स्वीकार गरेका थिए। उनीहरूले केही महिलाको भावनाप्रति असंवेदनशील व्यवहार गरेकोमा क्षमायाचना पनि गरेका थिए। तर सबै यौन सम्बन्ध आपसी सहमतिमा भएको उनीहरूको दाबी थियो।
अभियोजन पक्षले भने उनीहरूले महिलाको सहमतिबिना यौन सम्बन्ध राख्न योजनाबद्ध रूपमा लागुऔषध प्रयोग गर्ने गरेको बताएको छ। उनीहरूका अनुसार दाजुभाइहरूले महिलालाई पार्टी तथा विलासी यात्रामा बोलाउने, पेय पदार्थमा लागुऔषध मिसाउने र त्यसपछि बलात्कार गर्ने गर्थे।
अभियोजनकर्ताहरूले अदालतमा पेस गरेको सजाय सम्बन्धी निवेदनमा उनीहरूले पीडितमाथि अधिकतम नियन्त्रण कायम गर्न खोजेको उल्लेख छ।
‘उनीहरूलाई लाग्थ्यो, कुनै महिला विमान चढ्न, पार्टीमा जान वा नाइट क्लबमा उनीहरूको टेबलमा बस्न तयार भएपछि त्यस महिलाबाट आफूले चाहेको सबै कुरा लिन पाउँछन्,’ अभियोजन पक्षले भनेको थियो।
अभियोजनकर्ताका अनुसार प्रयोग गरिएका लागुऔषधले महिलालाई प्रतिरोध गर्न नसक्ने अवस्थामा पुर्याउनुका साथै घटनाका सबै विवरण सम्झन समेत कठिन बनाउँथे। पीडितलाई उपहास र अपमान गर्ने व्यवहारले उनीहरूलाई थप मानसिक पीडा दिएको र घटनाबारे बोल्न समेत लज्जित बनाएको अभियोजन पक्षको भनाइ थियो।
अभियोजन पक्षले कम्तीमा ७० महिला उनीहरूबाट बलात्कृत वा यौन दुर्व्यवहारको सिकार भएको जनाएको छ। सन् २०२४ जुनमा रियल इस्टेट सम्बन्धी समाचार संस्था ‘द रियल डिल’ले उनीहरू माथिका आरोपबारे विस्तृत समाचार प्रकाशित गरेपछि थप दर्जनौं महिला अगाडि आएका थिए।
विलासी जीवनशैली र प्रभावको दुरुपयोग
तीनै भाइको परिवार विलासी घरजग्गा व्यवसायमा संलग्न थियो। सन् २००८ मा फ्लोरिडाबाट न्युयोर्क सरेका ओरेन र तालले चर्चित रियल इस्टेट कम्पनी डग्लस एलिम्यानमा काम गरेका थिए। पछि उनीहरूले ‘अफिसियल’ नामक आफ्नै घरजग्गा कारोबार कम्पनी स्थापना गरे।
उनीहरूको कम्पनीले धनी तथा चर्चित ग्राहकलाई ‘कन्डोमिनियम’ बिक्री गरेर करोडौं डलरको कारोबार गरेको थियो। अर्का भाइ एलनले परिवारको निजी सुरक्षा कम्पनी सञ्चालन गर्थे।
अभियोजन पक्षका अनुसार पारिवारिक सम्पत्ति, व्यावसायिक पहुँच र प्रभावका कारण उनीहरूलाई विलासी याट, निजी विमान, विदेश भ्रमण तथा समुद्रकिनारका महँगा घरमा आयोजना हुने पार्टीहरूमा सहज पहुँच थियो। उनीहरूले यही पहुँचलाई महिलालाई प्रलोभनमा पार्न र उनीहरूको शोषण गर्न प्रयोग गरेका थिए।
अदालतकी न्यायाधीश भ्यालेरी काप्रोनीले तीनै भाइलाई एउटै कारागारमा राख्न नहुने धारणा व्यक्त गरेकी छन्। उनीहरू एकअर्काका लागि खराब प्रभाव बन्न सक्ने न्यायाधीशको भनाइ थियो। तर मंगलबार उनीहरूका वकिलले भने तीनै भाइलाई एउटै कारागारमा सजाय भुक्तान गर्न दिनुपर्ने तर्क गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)