छठ पर्वको दोस्रो दिन आइतबार भोजपुरी बहुल क्षेत्रमा ‘खरना’ मनाइँदैछ। छठको दोश्रो दिन अर्थात कात्तिक शुक्ल पञ्चमी तिथिको दिनलाई ‘रसियाव रोटी’ पनि भनिन्छ ।
नहाय खाएदेखि नै बिहान आँपको काँचो सिन्काले दाँत माझ्छन्। नुहाएर चोखो हुन्छन्। दिनभर निर्जला व्रत बस्छन्। पूजा कोठामा गाईको गोबरले लिपपोत गरी चोख्याउँछन्।
साँझपख नुहाएर चोखो भई पूजा कोठामा माटोको नयाँ चुल्होे बनाउँछन्। आँपको दाउरा बालेर सख्खर, पानी, दूध र चामल हालेर खिर जस्तै बनाइन्छ। त्यसैलाई ‘रसियाव’ भनिन्छ। माटाको भाँडामा गहुँको रोटी पकाउँछन्।
‘रसीयाव रोटी’ चन्द्रोदयपछि केराको पातमा छठी माता, सूर्य भगवान र कुल देवातालाई चढाएर पूजापाठ गरेपछि व्र्रतालुले प्रसाद खाने चलन छ।
घरमा व्रतालु एकदुई जना हुन्छन्, तर रसियाव रोटी परिवारका सबै सदस्यले बाँडेर खान्छन्। खरनाको दिन व्रतालुले नुन हालेको तरकारी खाँदैनन्।
त्यसपछि उनीहरू सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य नदिँदासम्म निर्जला व्रत बस्छन्। नैवेद्य चढाउने बेलामा जतिवटा अर्घ्य दान गरिने हो, त्यति ठाउँमा केराको पातमा नैवेद्य चढाउने गरिन्छ। शुद्ध भई छठी माताको आराधना र सूर्य भगवानको उपासनामा लागिरहेको परवानीपुर गाउँपालिका–५ कि लालमती देवीले बताइन्।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीव जीवात्माप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठ पर्व विधीवत रूपमा शनिबारदेखि सुरू भएको हो। व्रतालुका परिवारका सदस्यले छठघाटमा ‘शिरसोप्ता’ बनाउनेदेखि लिएर आवश्यक तयारी पनि गरिरहेका छन्। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ, सन्तान सुख प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
कठोर व्रत गरेर मनाइने छठ पर्व कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत सुरू भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ्य दिएर समाप्त हुन्छ।
पहिलो दिनलाई भोजपुरी भाषामा ‘नहाए खाए’ अर्थात नुहाएर खानु भनिन्छ। नहाय खायको दिन महिलाहरू आँपको दतिउनले मुख धुने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन्। व्रतालूले लसुन, प्याज र मसुरोको दालबिनाको शुद्ध सात्विक भोजन लिन्छन्।
जसमा अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्दछ। यस पर्वमा व्रतालु महिलाहरू नहाय खायको दिनदेखि शारिरीक शुद्धताको ख्याल गरी ब्रह्मचर्यको समेत पालना गर्दछन्। नहाय खायको दिनदेखि छठी माइको घरमा आगमन भएको धार्मिक मान्यता अनुसार छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरुले समेत शुद्ध शाकाहारी भोजन गर्दछन्।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ। यसदिन साँझ व्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन्। निर्जल र निराहार ब्रत बसेका उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। मनोकांक्षा सूर्यलाई सुनाउने गर्छन। भाकल गरेकाहरूले त्यस दिन घरमा आएर छठी मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन्। यस दिनलार्ई ‘सँझीया घाटे’ पनि भनिन्छ।
भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुन्छ। छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ। सप्तमी तिथिको उदाउँदो सूर्यलाई जलाशयमा अर्घ्य दिएर प्रार्थना गर्छन्। तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ।