जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपीसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुई जना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा छन्।
प्रहरीकाअनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले २०८२ साल मंसिर २३ गते साँझ करिब ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको सार्वजनिक इभि गाडीलाई कानूनी रित पुर्याई जाँच गरेको थियो।
जाँचको क्रममा दुई जना व्यक्तिहरूले बोकेको रातो र गुलाबी रङको सुटकेसभित्र लुकाइछिपाइ राखिएको ६० हजार ५ सय ३० पिस लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
थप अनुसन्धान पश्चात, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने स्थानबाट सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा १ कार्टुनभित्र १५ हजार ६ सय ४० पिस ट्रामाडोल क्याप्सुल समेत बरामद भएको थियो।
यसरी सो कार्यमा संलग्न चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद भएको लागुऔषधको कुल सङ्ख्या ७६ हजार १ सय ७० पिस ट्याब्लेट रहेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष २० का युवराज पटेल र वर्ष २१ का अफजल देवान छन्। अन्य पक्राउ पर्नेहरूमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ का रामहरि मगर र सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ का राजकुमार मगराती रहेका छन्। पक्राउ परेका निजहरू विरूद्ध लागूऔषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रहरी प्रमुख सुदिपराज पाठकले बताए।