दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि लगाइएको आरोप कपोकल्पित र भ्रामक रहेको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का नाममा पुस ६ गते जारी गरिएको विज्ञप्ति मार्फत् विश्वविद्यालयका उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोप नितान्त कपोलकल्पित, प्रमाणहीन र निराधार भएको उल्लेख छ।
पुस ६ गते बिहान निवासमै पुगेर उपकुलपति नेपाल सहितका पदाधिकारीमाथि मोसो दल्ने तथा कुटपिट गर्ने जस्ता दुर्व्यवहारहरू भएका थिए।
घटनापछि नेकपा (बहुमत) अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत् घटनाको जिम्मा लिएका थिए।
जसमा बोहराले उपकुलपति नेपालमाथि विभिन्न ८ बुँदामा दोषारोपन गरेका थिए।
बुँदा नम्बर १ मा विश्वविद्यालयबाट भ्रष्टाचारका अभियोग लागेका रजिष्टार माधव अधिकारीबाट उपकुलपति नेपालले मोटो रकम असुली पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख थियो।
तर, त्यो आरोपको खण्डन गर्दै विश्वविद्यालयका शिक्षाध्यक्ष जोशीले त्यो निराधार तथा कपोकल्पित भएको दाबी गरेका छन्।
‘हामी सम्बद्ध सबै पक्षलाई कुनै पनि पूर्वाग्रह, मिथ्या सूचना र स्वार्थी तत्वले उपलब्ध गराएका स्रोतमा भर नपरी सत्य र सही सूचनाका आधारमा विश्वविद्यालय र पदाधिकारीबारे धारणा निर्माण गर्नुका साथै प्राज्ञिक संस्थाको प्राज्ञिक मूल्य र मर्यादा कायम राख्ने कार्यमा सहयोगी भूमिका खेल्न अनुरोध गर्दछौँ,’ शिक्षाध्यक्ष जोशीले विज्ञप्तिमा भनेका छन्।
शिक्षाध्यक्ष जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उपकुलपतिको निवासमा अनधिकृत रूपमा प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र उक्त पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का नाममा उपकुलपति प्राडा नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित रूपमा गरिएको दुर्व्यवहार तथा आक्रमणको विरोध तथा निन्दा गरिएको छ।
घटनाले विश्वविद्यालयको शान्त, मर्यादित र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पारेको भन्दै विश्वविद्यालयका शिक्षाध्यक्ष जोशीले दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरेका छन्।
दुर्व्यवहार तथा कुटपिट घटनाको नेसंविका पदाधिकारी, निकाय प्रमुख, महाशाखा प्रमुख, शाखा प्रमुख, विभिन्न पेसागत संगठनका प्रतिनिधि, शिक्षक र कर्मचारीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गर्नुका साथै जिम्मेवार व्यक्तिको सुरक्षाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
नेपाल संस्कृत विश्वविद्यालय नेपाली समाजमा संस्कृत, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा अध्ययन–अनुसन्धानमा निरन्तर क्रियाशील ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गर्दै यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएका छन्।
नेपाल संस्कृत विश्वविद्यालयले सबै समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह पनि गरेको छ।