काठमाडौंको बालाजुस्थित बाइसधारा नजिकै टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बुधबार राति साढे १० बजे बाइसधारा मन्दिर नजिक सडक खण्डमा बा.प्र ०१-००६ ख ३४५४ नम्बरको टिपर र लु ५९ प ७०६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मोटरसाइकलमा सवार अर्घाखाँचीको मालारानी गाउपालिका-५ घर भई हाल काठमाडौंको बसुन्धारा बस्दै आएका २१ वर्षीय सागर खड्काको मृत्यु भएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो। अस्पतालमा राति ११:१७ बजे चिकित्कसले खड्कालाई मृत घोषणा गरेको थियो।
मोटरसाइकलमा सवार अर्का व्यक्ति अर्घाखाँचीकै सन्धिखर्क नगरपालिका घर भई बालाजु हाइट बस्दै आएका २२ वर्षीय लक्ष्मण राउत घाइते छन्।
उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको एसपी भट्टराईल जानकारी दिए।
दुर्घटनापछि टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।