विश्व बैंक र नेपाल सरकारको साढे १३ अर्ब बढी लागतमा चिनियाँ र नेपाली निर्माण कम्पनीले बुटवलदेखि कपिलवस्तुको गोरूसिंगे सम्मको ५० किलोमिटर सडक निर्माणको काम धमाधम गरिरहेका छन्।
यतिखेर ५० किलोमिटर सडक खण्डमा पर्ने विद्युत पोलहरू स्थान्तरणको काम धमाधम चलिरहेको छ। निर्माणाधिन सडक खण्डमा पुल तथा कलर्भट र नाला निर्माणको काम पनि धमाधम चलिरहेको हुँदा दर्जनौं ठाउँमा सवारी यात्रुले बाइपास हुँदै यात्रा गर्नु पर्ने गरी व्यवस्था मिलाइएको छ। सडकको दायाँ बायाँ माटो फिलिङको काम पनि भइरहेको छ।
९२ प्रतिशत विश्व बैंक र ८ प्रतिशत नेपाल सरकारको साढे १३ अर्ब बढी लगानीमा तीन वर्ष भित्रमा ५० किलोमिटर सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ।
-ink-1766658301.jpeg)
यो सडकखण्डलाई जनावर मैत्री बनाउन १८ वटा अन्डरपास, सवारी साधनका लागि (चार लेनमा) ६ वटा अन्डरपास, ठूला ३० वटा पुल, ११ वटा आकाशे पुल, १३३ वटा कलभर्ट एकै साथ निमाण गरिँदैछन्। सहरी क्षेत्रमा सर्भिस लेन, पाँच मिटरको फूटपाथ र १ मिटरको साइकल लेनसहित ६ लेनमा र ग्रामिण क्षेत्रमा ४ लेनमा सडक निर्माण हुने छ।
दक्षिण एसिया स्तरको सडक निर्माणको जिम्मा चिनियाँँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र नेपालको आशिष निर्माण सेवा प्राइभेट लिमिटेडले ठेक्का पाएका छन्। २०८१ असार ११ गते सम्झौता भएपनि निर्माण पक्षले २०८१ कात्तिक ३ गतेदेखि काम सुरू गरेको थियो।
सडक २०८४ कात्तिक ३ गतेसम्म स्तरउन्नतिको काम सक्नुपर्नेछ।
सडक निर्माणमा खटिएका इञ्जिनियर अशोक पौडेलका अनुसार बितेको एक वर्षमा भौतिक प्रगति तर्फ ३८ प्रतिशत र वित्तीय प्रगतितर्फ ३० प्रतिशत काम भएको छ।
रूपन्देहीको बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठी नदीको सीमादेखि गोरूसिंगेसम्म २५ किलोमिटर सडकलाई दुई भागमा विभाजन गरी निर्माण पक्षले काम गरी रहेको छ। जस अन्तरगत बुटवल क्षेत्र अर्थात लट नं. १ मा १७ प्रतिशत र लट नं. २ अर्थात कपिलवस्तु क्षेत्रमा २१ प्रतिशत भौतिक प्रगति भएको छ।
आउने असारसम्म रूपन्देही क्षेत्रमा १० किलोमिटर र कपिलवस्तु क्षेत्रमा १२ किलोमिटर सडक कालोपत्रेको काम सक्ने लक्ष्य अनुरूप काम भइरहेको इञ्जिनियर पौडेलले बताए।
सडकखण्ड निर्माणका लागि हाल रूपन्देही क्षेत्र अर्थात लट नं. १ मा स्किल्ड म्यानपावर (प्राबिधिक) १८७ जना र अनस्किल्ड अर्थात ज्यामी मदुर २९५ जना गरी कुल ४८२ र कपिलवस्तु क्षेत्र अर्थात लट नं. २ मा स्किल्ड म्यानपावर १९० र अनस्किल्ड म्यानपावर २७८ गरी कुल ४६८ जनाले काम गरिरहेका छन्। इञ्जिनियर पौडेलका अनुसार सडकखण्ड निर्माणको काममा सबै गरी दैनिक ९५० जतिले काम गरिरहेका छन्। केही दिनमा यो संख्या थपिने उनले बताए।
सडक खण्डमा ५० राता ट्रक र प्रयाप्त मात्रामा जेसिबी लगाएतका ठूला उपकरण सडक निर्माणमा लगाइएका छन्। जेसिबी लगायतका अन्य मेसिनरी उपकरण प्रयाप्त मात्रामा रहेको तथा त्यसले सडक निर्माणको काममा कुनै असर नपुगेको उनले बताए।
रूपन्देहीतर्फ सडक खण्डमा १४ किलोमिटर र कपिलवस्तु क्षेत्रमा १३ किलोमिटर माटो फिलिङको काम धमाधम भइरहेको छ। त्यस्तै प्रिकाष्ट ड्रेन अर्थात बाहिरै निर्माण गरी ल्याइने नाला तयारी अवस्थामा राखिएको छ।
रूपेन्देही क्षेत्रको खण्डमा चार वटा नाली गरी ३८ किलोमिटर र कपिलवस्तु क्षेत्रमा २८.१ किलोमिटरका लागि नाला तयारी अवस्थामा राखिएको हुँदा अब ती राख्न मात्रै बाँकी रहेको इञ्जिनियर पौडेलले जानकारी दिए। नाला तर्फ कपिलवस्तु क्षेत्रमा ८० प्रतिशत नालाको काम भइसकेको उनले बताए।
नेपालमा निर्माण भएकामध्ये हालसम्म पहिलो मानिएको बुटवल गोरूसिंगे जनावर मैत्री सडक निर्माण गर्दा रूपन्देही क्षेत्रमा जनावरका लागि दुई वटा अण्डर पास र कपिलवस्तु क्षेत्रमा १६ वटा त्यस्ता संरचनाहरू निर्माण गरिने छन्। त्यसमध्ये कपिलवस्तु क्षेत्रका १३ वटा र रूपन्देही क्षेत्रका दुई वटा गरी १५ वटाको काम भइरहेको छ।
-ink-1766658302.jpeg)
ती अण्डरपासहरू हात्ती जस्ता ठूला जनावर भन्दा पनि त्यसक्षेत्रमा पाइने निलगाई, चितुवा, हरिण, मृग वा बाघलाई मध्यनजर गरी निर्माण गर्न थालिएका हुन्। जंगली जनावरको सहज आवागमनमा भविष्यमा कुनै अवरोध नपुगोस् लागि ६ मिटर चौडाइ सम्मका अण्डरपास निर्माणको काम भइ रहेका छन्
त्यस्तै, मुख्यचोकहरूमा सवारीसाधन संचालन निर्वाधरूपमा हुन सकोस् भनेर अण्डर पास निर्माणको काम पनि धमाधम भइरहेको छ। चारलेन सडकमा उत्तर–दक्षिण भएर चल्ने गाडी भूमिगत मार्ग र पूर्व पश्चिम चल्ने गाडीका लागि माथिबाट आवातजावात गर्ने गरी ६ ठाउँमा त्यस्ता संरचना निर्माण गरिँदै छ। सवारीसाधनका लागि यस्ता अण्डरपासहरू भने बढी भिडभाड युक्त बन्दै गएको रूपन्देही क्षेत्रमा पाँच वटा र कपिलवस्तु क्षेत्रमा एउटा निर्माण गरिँदै छ। रूपन्देहीको जितगढी, नयाँ गाउँ, लाम नगर, बुद्ध नगर, भूमीस्थान र कपिलवस्तुको ४ नम्बरका एउटा अण्डरपास निर्माण गरीने छ।
त्यस्तै पैदल यात्रुका लागि छुट्टै थप १२ वटा अण्डरपासहरू र पैदल यात्रुका लागि आकाशे पुल थप ११ वटा निर्माण गरिँदै छ। रूपन्देहीमा ६ र कपिलवस्तुमा ५ वटा आकाशे पुलहरू निर्माण गरिने छन्।
३० वटा ठुला पुल निर्माण गर्नुपर्नेमा २६ ठाउँमा पुल निर्माणको काम धमाधम भइरहेको इञ्जिनियर अशोक पौडेलले बताए। असार मसान्तसम्म ५० प्रतिशत पुलहरूको निर्माण कार्य सहजै सकिने पौडेलले बताए।
‘ठूला १५ वटा पुल निर्माण कार्य असारसम्म सहजै सकिसक्छन्,’ उनले भने, ‘त्यसले यातायात आवागमनमा थप सहजता थप्ने छ।’
-ink-1766658303.jpeg)
सहरी क्षेत्रमा डेडिकेटेड ६ लेन ५० मिटर चौडा सडक निर्माण हुने छ। त्यो सडकको लम्बाई १४.५३ किलोमिटर हुने छ।
त्यस्तै सेमी आवास क्षेत्रको सडक ३७.४ मिटरको हुने छ। यो सडक खण्ड लम्बाई १५.८५ किलोमिटर छ।
जंगल क्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण गरिँदै छ। जंगली क्षेत्र १९.६२ किलोमिटर रहेको छ। ग्रामिण क्षेत्रमा ४ लेनको सडक विस्तार गर्न लागेको हो। सडक अन्तर्गत कपिलवस्तु तर्फको सालझण्डी–पिपरा र वनगाई–गोरूसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक निर्माण गरिने छ।
सडकको कालोपत्रे अस्पताल र कंक्रिट विधिबाट गरिने छ। सडकको कालोपत्रेको मोटाइ १० सेन्टिमिटरको हुनेछ। सवारी आवागमनमा अप्ठेरो नहोस् भनेर वा यात्रुले दुःख नपाउन भनेर दुवैतिर सर्भिस लेन बनाइसके पछि मात्रै बीचको भाग भत्काइने उद्देश्य लिइएको इञ्जिनियर पौडेलले बताए।
अहिलेकै गतिमा काम भए तोकिएको समय अर्थात २०८४ कात्तिक ३ गते सडक निर्माणको काम पुरा गर्न सम्भव हुने इञ्जिनियर पौडेलले बताए। खोला तथा नदीजन्य पदार्थको सहज उपलब्धता नभएका कारण आफूहरूलाई काम गर्न केही विलम्ब भइरहेको पनि उनले बताए।
‘हामीले सोचे जसरी नदी तथा खोला जन्य वस्तु पाउन सकेका छैनौं,’ पौडेलले भने,‘तिनाउबाट भनेजति बालुवा, गिट्टी पाउन मुस्किल छ।’
उनका अनुसार सैनामैना नगरपालिका, बानगंगा नगरपालिका र शिवगंगा नगरपालिकाबाट खोला तथा नदीजन्य वस्तु ल्याउनु परिरहेको बताए।
सडक निर्माण पुरा गरे पछिका पाँच वर्षसम्म त्यसको मर्मत तथा निर्माण गर्ने दायित्व निर्माण कम्पनीकै हुने सम्झौतामा उल्लेख छ। सडक खण्डको स्तरउन्नतिका लागि भनेर गत वर्ष नै ७१११ वटा रूख काटिएको थियो।
काटिएका ती एक रूख बराबर १० वटा नयाँ रूख लगाउने तथा हुर्काउने खर्चपनि निर्माण कम्पनीले नै बेहोर्नु पर्नेछ। रूख विरूवा रोपी सकेपछि ५ वर्षसम्म त्यसको संरक्षण तथा रेखदेख गर्ने दायित्व स्वएंम निर्माण व्यवसायीकै जिम्मामा हुने छ।
त्यो कार्यका लागि वन विभागलाई जिम्मेवारी पाएको छ भने निर्माण कम्पनीले लाग्ने आवश्यक सबै खर्च वन विभागको खातामा पठाइसकेको छ। हाल सडकखण्डमा रहेका झन्डै २१०० बढी विद्युत पोल स्थान्तरणको काम भइरहेको छ। त्यो काममा लाग्ने सबै खर्चपनि सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले नै गर्ने सम्झौता अनुरूप उसैले गर्दै आएको छ।
-ink-1766658301.jpeg)
पूर्व पश्चिम राजमार्ग निर्माण भएको ६ दशक पछि बुटवल–गोरूसिंगे ५० किलोमिटर सडक स्तरउन्नतिका काम भइरहेको हो। यो सडकखण्ड विस्तारको काम सकिएमा यात्रा गर्दा लाग्ने आधा समयको बचत हुने अपेक्षा गरिएको छ। इन्धन बचतका साथै यान्त्रिक समस्या कम हुने अपेक्षा गरिएको छ।
इञ्जिनियर अशोक पौडेलले प्रति घन्टा एक सय किलोमिटरमा सवारी दौडिन मिल्ने गरी सडक विस्तारको काम भइरहेको बताए।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी सडक निर्माण ठेक्का सम्झौता भएको थियो। जसमा रूपन्देही क्षेत्रको काम गर्न ७.१९ अर्ब र कपिलवस्तु क्षेत्रको ठेक्का ५.६६२ अर्बमा निर्माण पक्षले लिएको हो।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरूसिंगे खण्डको ५ अर्ब ६६ करोड रूपैयाँमा सम्झौता भएको छ। यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
-ink-1766658303.jpeg)