सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित दुई जना व्यक्ति र दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान करिब २:१० बजे धरान उपमहानगरपालिका–२० बरडाँडा क्षेत्रमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक भिषण बाबु राईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गरेको थियो।
चाँदीबजारबाट विष्णुपादुकातर्फ जाँदै गरेको दुई वटा गाडीलाई रोकी खानतलासी गर्दा अवैध लागूऔषध गाँजा ९५५ केजी बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने दुवै सवारी साधन समेत नियन्त्रणमा राखिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान प्रक्रियाअघि बढाइएको जानकारी दिएको छ।