नेपाल इन्जिनियर्स एसोसिएसनले सर्लाहीको मलंगवामा सब-इन्जिनियरको हत्या भएको घटनाबारे गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ।
मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालमा पुगेर एसोसिएसनको टोलीले उक्त घटनामा आरोपीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएको हो।
एसोसिएसनले दोषीलाई यथाशीघ्र पहिचान गरी कडा कारबाही गर्न, प्राविधिक तथा इन्जिनियरहरूको कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न ठोस सुरक्षा व्यवस्था गर्न पनि माग गरेको छ।
एशोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर बिक्रम कुमार दास इन्जिनियर तथा प्राविधिक कर्मचारीको सुरक्षाको विषय अत्यन्त संवेदनशील भएकाले राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए।
साथै, पेशागत सुरक्षाको प्रत्याभूति नहुँदासम्म एशोसिएसनले आवश्यक आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने पनि उनले जानकारी दिए।
एसोसिएसनले सबै प्रादेशिक कार्यालय रहेको जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य दासले जानकारी दिए।
आजै सम्पूर्ण इन्जिनियरहरूले आफ्नो कार्यक्षेत्रमा कालोपट्टि बाँधेर काम गरेको, अपराह्न १ देखि ३ बजेसम्म पेन डाउन गरिएको उनले बताए।
एसोसिएसनले आजै साँझ साढे ५ बजेपछि काठमाडौंको माइतीघर मण्डल तथा सबै प्रादेशिक कार्यालयको संयोजनमा दीप प्रज्वलन तथा विरोध सभा गर्ने कार्यक्रम तय भएको छ।
बाँकी आन्दोलनका कार्यक्रम आजै साँझ बस्ने बैठकले सार्वजनिक गर्ने केन्द्रीय सदस्य दासले जानकारी दिए।
सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर यादवको गत फागुन ३ गते हत्या भएको थियो।
सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका-१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो।
सब इन्जिनियर यादव दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलङ्गवा फर्किएका थिए।
घरबाट फर्किएलगत्तै उनीमाथि गोली प्रहार भएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।
मृतककी श्रीमती पुनम यादवका अनुसार प्रमोदमाथि गोली चलाउने व्यक्ति मोटरसाइकलमा चढेर आएका बताएका छन्।
तिनै व्यक्तिले यादवलाई कोठाबाहिर बोलाएर गोली हानेको पुनमले बताएकी छन्। प्रमोदको देब्रे छातीमा गोली लागेको थियो।
घटनास्थलबाट प्रहरीले गोलीको एक खोका बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) सरोज राईले बताएका छन्।
गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएका थिए।