धादिङबाट तरकारीका खाली क्रेट बोकी सातदोबाटो हुँदै कान्तिलोकपथ मार्गबाट हेटौंडातर्फ जाँदै गरेको ना ३ च ४०५ नम्बरको हात्ती गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ।
दैनिक चेकजाँचका क्रममा आज बिहान करिब ८:४० बजे प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले बागमती गाउँपालिका–३ छपेलीमा गाडी रोकी जाँच गर्दा शंकास्पद रूपमा ‘फल्स बटम’ बनाइएको फेला पारेको थियो। सोधपुछका क्रममा चालक एक्कासि भागी जंगलतर्फ फरार भएका थिए।
प्रहरी टोलीले घेराबन्दी गरी करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका–२ बगुवा जंगल क्षेत्रबाट चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
पुनः गाडी जाँच गर्दा फल्स बटमभित्र लुकाइछिपाइ राखिएको करिब १५३ केजी (१५ पोका) लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–७ घर भई हाल हेटौंडा बस्दै आएका २८ वर्षीय नगेन्द्र श्रेष्ठ रहेका छन्।
बरामद गाडी र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।