इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी सुवास भट्ट माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी बनेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयले भट्टलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
कार्यालयका अनुसार भट्टको नेतृत्वमा माघ महिनामा गम्भीर अपराधका घटनाहरूको सफल अनुसन्धान भएको थियो।
चितवनको रत्ननगर नगरपालिका–४, सिनेमारोड बस्ने ६३ वर्षीया सुकमाया देवी तामाङ पुस २६ गते हात, खुट्टा र मुख कपडाले बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन्। उक्त घटनामा सुनका गरगहना, नगद रूपैयाँ र मोबाइल लगायतका धनमाल लुटिएको थियो।
घटनाको अनुसन्धानमा डिएसपी भट्टले नेतृत्वदायी भूमिका निर्वाह गर्दै घटनामा संलग्न पाँच जनालाई सवारी साधन र घटनाका दसी प्रमाणसहित पक्राउ गर्न सफल भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले जानकारी दिए।
यस घटनामा प्रहरीले चोरी भएको सुनका गरगहना खरिद गर्ने दुई जनालाई समेत पक्राउ गरी १ तोला ५९.६ लाल सुन बरामद गरेको थियो।
त्यसैगरी, गत मंसिर ७ गते रत्ननगर–१४ मा डेरा गरी बस्ने २१ वर्षीया सुस्मिता घिमिरे र निजकी बहिनी आफ्नो डेराको कोठामा सुतिरहेको अवस्थामा जबरजस्ती कोठाभित्र प्रवेश गरी हतियार देखाउँदै सुनको सिक्री डाँका गरी लग्ने दुई जनालाई भट्टको नेतृत्वमा रहेको टोलीले पक्राउ गरेको थियो।
पटक पटक चोरी तथा डाँका लगायतका विभिन्न कसुरमा १४ वर्ष र २० वर्ष कैद सजाय भुक्तान गरिसकेका उनीहरूले गत मंसिर ८ गते नवलपरासीको कावासोती–८ बस्ने एकै परिवारका ६ जना सदस्यलाई हातहतियार देखाई डरत्रासमा पार्दै बन्धक बनाएर धनमाल लुटेका थिए।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक रेग्मीले जिल्ला प्रहरी कार्यालय नवलपरासीसँग आवश्यक समन्वय गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्पादित कार्यको उच्च मूल्यांकन गरिएको बताए।
साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहित गर्न महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९ अनुसार डिएसपी भट्टलाई माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जानकारी दिए।