सर्लाहीमा पेस्तोल पड्किएर एक बालक घाइते भएका छन्।
सर्लाही मलंगवा नगरपालिका वडा नं ४ ढाका गाउँ बस्ने रामविश्वास रायको छोरा १५ वर्षीय आकाश राम घाइते भएका हुन्।
उनको दाहिने हातको पञ्जामा गोलीले लागेको थियो। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार आकाशको घरदेखि सय मिटर पूर्वतिर निर्माणाधीन हनुमान मन्दिर छ। आकाशले मन्दिरभित्र कुनामा रातो कपडाले बेरेर राखिएको पेस्तोल फेला पारेका रहेछन्। पेस्तोल नक्कली होला भनी चलाउने क्रममा पेस्तोल पड्किएर उनको हातमा लागेको थियो।
घटनास्थलबाट पेस्तोल एक थान, पड्किएर पेस्तोलमा अड्किएको खोका एक थान फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सरोजले जानकारी दिए।