हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै तराईका केही स्थानमा हुस्सु लागेको छ।
काठमाडौं उपत्यकाका एक-दुई स्थानमा बिहानीपख छिटपुट वर्षा भएको छ।
शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ।
शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने महाशाखाले जनाएको छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।
महाशाखाका अनुसार राति कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।