बाँके प्रहरीले एक युवक हत्या आरोपीलाई दुई वर्षपछि पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ का ५३ वर्षीय अफजल पठानलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालगञ्ज–२१ बिर्ता गाउँका २२ वर्षीय मोहम्मद अरबी खाँको २०८० चैत १८ गते गंगारामपूर्वादेखि तेलियनपुर जाने कच्ची बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
डिएसपी दीपक पातलीका अनुसार हत्या आरोपी पठान घटना पछि फरार थिए। नेपालगञ्ज–१५ जमुनाहास्थित नेपाल–भारत सीमा नाका क्षेत्रबाट उनी पक्राउ परेका हुन्।
निर्वाचनको मौका छोपेर भारतबाट नेपाल तर्फ आउँदै गरेका पठानलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी पातलीले बताए।
पक्राउ परेका पठानविरूद्ध २०६१ असार १७ गते बाँके प्रहरीमा हफिफुल्ला खाँको हत्यामा संलग्नता रहेको भन्दै जाहेरी दर्ता भएको थियो।
त्यस्तै २०६२ भदौ ११ गते रियाज खाँको हत्यामा समेत उनको संलग्नता रहेको भन्दै जाहेरीको रेकर्ड फेला परेको छ।
जिल्ला अदालत बाँकेले शुक्रबार सात दिन थुनामा राखेर हत्या घटना अनुसन्धान गर्न पहिलो पटक म्याद दिएको छ।