धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो।
काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा मृत्यु भएको हो।
उनको परिचय खुलेको छैन।
दुर्घटनापछि २३ जनालाई काठमाडौं ल्याइएको थियो।
तीमध्ये १० जनालाई नेसनल अस्पताल कलंकी र १३ जना ट्रमा सेन्टरमा लगिएको थियो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडकखण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो।
दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बसमा कुल ४५ जना सवार थिए। तीमध्ये २८ जना घाइते भएका छन्। बाँकी घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
उक्त बस आइतबार बेलुकी ७ बजे पोखराबाट छुटेको थियो। मृतकको पहिचान अहिलेसम्म खुलेको छैन।