बुटवलमा वडा अध्यक्ष सहित ५० बढी युवा एमाले प्रवेश गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध युवा नेताहरु विष्णु पौडेललाई जिताउने अभियानमा सहभागी हुँदै एमाले प्रवेश गरेको रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङले जानकारी दिए।
गुरुङले बुटवल वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य सहितका युवाहरु एमाले प्रवेश गरेको बताए।
उनीहरुले रुपन्देही २ को थप विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र पौडेल भविष्यको प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएकाले उनलाई जिताउन भन्दै युवाहरु एमालेमा आवद्ध भएको बताए।
एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरुको प्रतिनिधिमूलक भेला गराई एमालेमा प्रवेश गराएका थिए।
युवाहरुको प्रवेशसँगै रुपन्देही २ मा विष्णु पौडेलको जित सुनिश्चित भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालको भ्रममा नपरी फराकिलो जितका लागि मेहनत गर्न युवाहरुलाई निर्देशन दिए।
उनीहरु यसअघि एमालेमा रहेका र एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका थिए। परिवारका पुराना सदस्यहरुसँग पुनर्मिलन हुँदा र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताए।