रोल्पामा मंगलबार बिहान जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप १२ जना घाइते भएका छन्।
घटनास्थलबाट इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका वरिष्ठ सई ताराबहादुर छहरीले अन्दाजी ४५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखेको उनले बताए।
घाइते सबै १२ जनालाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञानका लागि पठाइएको उनले जानकारी दिए।
बिहान सवा ९ बजेतिर रून्टीगढी गाउँपालिका–५ खुम्बासमा लु १ ज ४८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो।
घटनास्थल दाङ र रोल्पाको सिमानामा पर्छ।
दाङको घोराहीबाट शहिद मार्ग हुँदै होलेरीतर्फ जाँदै गरेको जिप झन्डै डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।