त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पसमा निर्माण प्रक्रिया सुरू भएको छ।
२० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँको लागतमा इन्जिनियरिङ अध्ययन संस्थान निर्माणको काम सुरू भएको हो।
निर्माण कम्पनी ‘खड्का निर्माण सेवा प्रालि’ सँग फागुन ८ गते भएको सम्झौता अनुसार २०८४ भित्र काम सक्नु पर्नेछ।
घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा इन्जिनियरिङ संस्थानको पाँच तले भवन निर्माणको प्रक्रिया सुरू भएको हो।
निर्वाचन आचार संहिताका कारण भवन निर्माणको प्रक्रिया सुरू भए पनि शिलान्यास भने भएको छैन। निर्वाचन सकिएपछि मात्रै शिलान्यासको काम हुनेछ ।
गत वैशाख २३ गते कम्प्युटर इन्जिनियरिङ संस्थानको भवन निर्माणका लागि ३० करोड बजेटको स्रोत सुनिश्चित भएको थियो। त्यसपछि बोलपत्र आह्वान भएको थियो। बजेट सुनिश्चितताका लागि तत्कालीन समय नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिका निर्वाह गरेका थिए।
मुलुकका सात वटै प्रदेशमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने निर्णय भने त्यसभन्दा पहिले नै भएको थियो। डोटी, बर्दिबास र दाङमा पूर्ववर्ती सरकारले इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने निर्णण गरे पनि त्यो निर्णय अलपत्र अवस्थामा थियो। यो बीचमा बर्दिबासको काम अघि बढे पनि डोटीको काम भने अझै अलपत्र अवस्थामै छ।
घोराहीमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यापन संस्थानको भवन निर्माणको काम थालनी भएसँगै त्यसले जिल्लाबासी उत्साहित बनेका छन्।
तोकिएकै अवधिमा भवन निर्मार्णको काम पूरा भएमा दाङमै पहिलो पटक २०८४ देखि विश्वविद्यालय तहबाटै सूचना प्रविधिको पढाइ सुरू हुनेछ।
यो इन्जिनियरिङ क्याम्पसले दाङलाई सूचना प्रविधिको हबको रूपमा स्थापित गर्ने आशा गरिएको छ।