काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भूभागमा मंगलबार दिउँसो पानी परेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, कपन लगायतका क्षेत्रमा दिउँसो पानी परिरहेको छ।
त्यस्तै दोलखाको जिरीसहित बागमती प्रदेशमा पहाडी भूभागहरुमा वर्षा भइरहेको छ।
गण्डकी प्रदेशका लमजुङ, कास्की लगायत विभिन्न जिल्लाका पहाडी भूभागमा पनि पानी परेको छ।
संखुवासभाको नुम मापन केन्द्रमा पछिल्लो एक घन्टामा २० मिलिमिटर वर्षा भएको छ।
महाशाखाकी मौसमविद पुजा लामिछानेले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं लगायतका ठाउँहरुमा वर्षा भएको बताइन्। काठमाडौंमा दिउँसो २ देखि ३ बजेसम्म पानी पर्ने आँकलन थियो। पानी पार्ने बादलको प्रभाव अपराह्न ४ बजेसम्म रहने उनले बताइन्।
साँझ ५ बजेदेखि काठमाडौंको मौसम क्रमशः सफा हुँदै जानेछ
बुधबार कोशी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको तर तल्लो भूभागहरुमा वर्षा र हिमपात हुने सम्भावना नदेखिएको उनले बताइन्।