अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मकवानपुरको हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाल र बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ।
आयोगका अनुसार सवारी सरूवा सहमति गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग भइरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले खगेन्द्र पौडेललाई सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आज हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित यातायात व्यवस्था कार्यालयबाट उनीहरू दुवै जनालाई ३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।