फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गर्दै फागुन १८ गते मध्यरातदेखि सीमा नाका बन्द हुने जानकारी गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा फागुन १८ गते सोमबार राति १२ः०० देखि २१ गते बिहीबार राति १२ः०० बजे सम्म पर्सा जिल्लासँग जोडिएका सबै भारतीय सीमा नाका पूर्ण रूपमा बन्द हुने उल्लेख छ।
प्रशासनले होली तथा रमजान पर्व मनाउने क्रममा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, जबरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन पनि अनुरोध गरेको छ।
निर्वाचनको सुरक्षामा असर पर्न सक्ने हुँदा चाडपर्वहरू धार्मिक तथा साँस्कृतिक रूपमा आ–आफ्नो घर कम्पाउण्डभित्र मनाउन प्रशासनले आग्रह गरेको छ।
कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरूसँग यो पर्व मनाउन बाधा नपर्ने प्रशासनको भनाइ छ। तर कुनै पनि चौर, खुला स्थान, चौक चौराहा वा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रमहरू गर्ने गरी होली तथा रमजान लगायतका पर्व मनाउन निषेध गरेको छ।
त्यसैगरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा वा निर्वाचन चिन्ह अंकित कुनै पनि भेष्ट, टि–सर्ट, कमिज, गम्छा, टोपी, झोला लगायतका कपडाहरू लगाई पर्व मनाउन निषेध गरिएको छ।
होली पर्व मनाउँदा अत्यधिक रूपमा मोटरसाइकल दुर्घटनामा परी धेरै जनधनको क्षति हुने गरेको देखिएकोले फागुन २० गते मोटरसाइकल प्रयोग गरि होली मनाउन निषेध गरिएको प्रशासनले जनाएको छ।
फागुन १६ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्सा जिल्ला भरी राजनीतिक दलको प्रचार प्रसार, कुनै पनि धार्मिक, साँस्कृतिक र सामाजिक कार्यहरूमा डि.जे. लगायतका ध्वनी प्रदूषण हुने खालका बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ ।