प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचार प्रसारका लागि हिँडेको गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।
रास्वपाको झन्डा टाँगेको जिपको ठक्करबाट प्युठान नगरपालिका – ५ जुम्रीकाँडाका मोटरसाइकल चालक २० वर्षीय जीवन विश्वकर्मा, पछाडि सवार सोही ठाउँका २१ वर्षीय रेशम खड्का, स्कुटर चालक दाङको लमही नगरपालिका –६ देउपुरका २६ वर्षीय दीपक पोखरेल र पछाडि सवार उनकी श्रीमती २५ वर्षीया सुजना भण्डारी घाइते भएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरि भट्टराईका अनुसार घाइतेमध्ये दुई जनालाई प्युठानको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने एक जनालाई बाँकेको नेपालगंजका लागि रिफर गरिएको छ।
इलाका प्रहरी कार्यालय बिजुवारका अनुसार स्कुटर चालक नेपालगंज र मोटरसाइकलमा सवार दुई जना बुटवलका लागि रिफर गरिएका छन्। बुटवल र नेपालगंज पठाइएका घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।
स्कुटरमा सवार महिला भने उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।
शनिबार दिउँसो रास्वपाको चुनाव प्रचार प्रसारमा जाँदै गरेको चालक एक्लै सवार तीव्र गतिको लु १ च ७७६९ नम्बरको जिपले प्यूठान नगरपालिका – ७ चिउरी डाँडाको घुम्ती नजिकै रा ५ प ४६८८ नम्मरको मोटरसाइकल र रा ६ प ६९४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
बाग्दुलाबाट बिजुरवारतर्फ जाँदै गरेको जिपले विपरीत दिशाबाट आउँदै गरेका मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो।
जिप चालक नौबहिनी गाउँपालिका – ६ बहानेका २५ वर्षीय किशन बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार रास्वपाको चुनावी प्रचारमा जाँदै गरेको तीव्र गतिको जिपको ठक्करका कारण उक्त दुर्घटना भएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।