वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवा स्थिति एक उद्योगमा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। पर्सागढी नगरपालिका ५ हर्दियाका अन्दाजी २६/२७ वर्षीय विरेन्द्र पण्डितको मृत्यु भएको हो।
महेश शर्माले सञ्चालन गरेको एक्स पिएम उद्योगमा साँझ मेसिनले च्यापिएर उनको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए।
‘काम गर्ने क्रममा मजदुरको मृत्यु भयो भन्ने जानकारी आएको छ। अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट टोली खटिएको छ,’ उनले भने।
पर्सागढीका मजदुरको मृत्यु भएपछि आफन्त र गाउँले आइतबार साँझ उद्योगमा पुगेका थिए। उनीहरुले घटना शंकास्पद भएको भन्दै उद्योगका सञ्चालक आएपछि मात्रै अन्य कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
आफन्त र गाउँलेहरुले दुर्घटना कसरी भयो भनेर चासो राखेको प्रहरी नायब उपरीक्षक हरि बहादुरले बताए।
पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नितेश मिश्रले घटनाबारे जानकारी लिन कम्पनीको मालिकको प्रतिक्षामा रहेको बताए।
‘मजदुरले काम गर्दै गरेको सिसिटीभी फुटेज छ, अनि प्रहरी उद्योगमा आएको फुटेज छ तर बीचमा घटना हुँदाको फुटेज छैन,’ उनले भने, ‘ घटना शंकास्पद छ, कम्पनीको मालिकलाई प्रतिक्षा गरिरहेका छौं। उनी सम्पर्कमा आएका छैनन्।’
कम्पनीका मालिक आएपछि मात्रै अन्य कानूनी प्रक्रिया अगाडि बढाउने अडानमा मृतकका आफन्त र गाउँले रहेको उनको भनाई छ।
प्रहरी नायब उपरीक्षक हरि बहादुरले भने अनुसन्धानपछि घटना बारे सत्यतथ्य पत्ता लाग्ने बताए।